बिहीबार, वैशाख १३, २०८१
17:13 | २१:५८

लकडाउनले बेलायतमै रोकिनेको भिसा जुलाई ३१ सम्म थप हुने

नेपाली लिङ्क मे २७, २०२०

लण्डन । कोरोना संक्रमण रोकथामको प्रयासमा लागू भएको लकडाउनका कारण बेलायतमा पनि थुप्रै विदेशीहरु अलपत्र छन् ।

भ्रमण भिसा वा अन्य कुनै प्रयोजनमा छोटो भिसा लिएर आएका उनीहरु आफ्नो योजनाअनुसार घर फर्किन सकेका छैनन् ।

बेलायत सरकारले लकडाउनका कारण रोकिएका तीनै विदेशीहरुको भिसा आउँदो जुलाई ३१ सम्म थप गरिदिने भएको छ ।

यसअघि पहिलो चरणमा मे ३१ सम्मका लागि बढाइएको भिसा थपको अवधि दुई महिना लम्ब्याउँदै जुलाई ३१ सम्म पुर्याइएको छ ।

गत जनवरी २४ तारिखदेखि आउँदो जुलाई ३१ सम्मको अवधिमा भिसा सकिने सबैको लागि जुलाईको ३१ सम्म भिसा थप हुनेछ ।

यो सुविधाअनुसार भिसा थपको लागि तोकिएको अवधिमा भिसा सकिएका र महामारीका कारण स्वदेश फर्किन नसकेकाहरुले होम अफिसलाई सम्पर्क राख्नुपर्नेछ ।

अनलाइनमार्फत यो लिंकमा क्लिक गरी दिइएको फारम भरेर होम अफिसलाई आफ्नो अवस्थाबारे जानकारी गराएपछि जुलाई ३१ सम्म उनीहरुको भिसा थप हुनेछ ।

भिसा अवधि थप गरिएपनि लकडाउन खुकुलो भएको र उडानहरु सञ्चालनमा आएको अवस्थामा भने सक्दो छिटो आफ्नो देश फर्किन बेलायत सरकारले सम्बन्धित सबैलाई आव्हान गरेको छ ।

लण्डनस्थित नेपाली दूतावासले पनि यो अवधिमा भिसा सकिने सबै नेपालीलाई आफ्नो बारेमा होम अफिसलाई जानकारी गराउन आग्रह गरेको छ । साथै, कुनै जानकारी वा सहयोगको आवश्यकता परेको अवस्थामा दूतावासलाई सम्पर्क राख्न सकिने दूतावासको भनाइ छ ।

लकडाउनका कारण बेलायतमै रोकिएका करिब एक सयको संख्याका नेपालीहरु दूतावासको सम्पर्कमा रहेको प्रवक्ता शरदराज आरनले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू