बिहीबार, चैत १५, २०८०
12:08 | १७:५३

बेलायतमा जुनदेखि लकडाउन थप सहज पार्ने तयारी

नेपाली लिङ्क मे २६, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या विगत केहि दिनदेखि ओरालो लाग्दै गइरहँदा विगत ९ हप्तादेखि जारी लकडाउन अब बिस्तारै खुकुलो हुने क्रममा छ ।

गत २४ घन्टामा बेलायतमा कोरोना संक्रमणबाट १ सय २१ जनाको मृत्यु भएको छ । सोमबार साँझसम्म बेलायतका अस्पताल, केयरहोम लगायतका स्थानहरुमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ हजार ७ सय ९३ पुगेको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दर्न आयरल्याण्डका अस्पतालमा गएको २४ घन्टामा ७७ जनाको मृत्यु भएको छ । जुन संख्या गत मार्च २३ मा लकडाउन सुरु भए यताकै सबैभन्दा कम भएको बताइएको छ ।

त्यस्तै २४ घन्टाभित्र ७३ हजार ७ सय २६ जनामा कोरोनाको परीक्षण गरिएकोमा थप १ हजार ६ सय २५ जनाको परिणाम पोजिटिभ देखिएको छ । बेलायतमा हालसम्म ३५ लाख ३२ हजार ६ सय ३४ जनामा कोरोनाको परीक्षण गरिएकोमा २ लाख ६१ हजार १ सय ८४ जनामा पोजिटिभ देखिएको छ ।

कोरोनाको संक्रमण तथा मृत्युदरमा गिरावट आउँदै गएपछि आउँदो जुन महिनाबाट लकडाउनलाई थप खुकुलो पारिने प्रधानमन्त्री बोरिस जोन्सनले आश्वासन दिएका छन् । जुन १ देखि अत्यावश्यक खुद्रा पसल, शोरुम लगायतका ‘आउटडोर’ पसलहरु सुचारु गरिने उनले सोमबार साँझको सम्बोधनमा बताएका हुन् ।

तर समाजिक दुरी कायम राख्दै सतर्कता भने अपनाउनुपर्नेछ । साथै, कपडा पसल, जुत्ता पसल, खेलौना, फर्निचर, पुस्तक विद्युतीय सामग्री पसल, फोटोग्राफी स्टुडियो जस्ता अन्य पसलहरु भने जुन १५ बाट खुला गरिनेछ ।

सञ्चालनमा आउने व्यवसायहरुमा सामाजिक दुरीको नियम पालना गरेको वा नगरेको सम्बन्धमा ‘स्पट चेक’ गरिनेछ । सतर्कताको लागि पसलको झ्यालमा स्पष्ट रुपमा ‘अवारनेस’ सम्बन्धी पोष्टर राख्नुपर्ने, फिर्ता गरिएका सामानहरु ७२ घन्टासम्म स्टोरमा राखेपछि मात्र ‘फ्लोर’ मा राख्न पाइने, बेड, सोफा जस्ता ठूला सामानहरु सुरक्षित तरिकाले ढाक्नुपर्ने र निरन्तर सम्पर्कमा आउने ट्रली, कफी मेसिन जस्ता सामग्रीहरुको सफाइमा ध्यान पुर्याउने जस्ता विभिन्न शर्तहरुको पालना गर्नुपर्नेछ ।

नवौं हप्ताको लकडाउन पछिको अर्को कदम ‘अनलक’ भएको प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारको सम्बोधनमा उल्लेख गरेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको आधारमा युरोपभर बेलायत सबैभन्दा बढी प्रभावित मुलुक हो । संसारभर अमेरिका पछिको दोस्रो धेरै संख्याका मृत्यु बेलायतमा भएका छन् । युरोपका केहि भागमा यसअघि नै लकडाउन खुकुलो पार्दै लागिएको छ । विश्वभर कोरोना संक्रमणबाट झन्डै साढे तीन लाखको मृत्यु भइसकेको छ भने अमेरिकामा मात्र १ लाखको मृत्यु भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालमा ४ सहित विश्वभर कुल १ सय १८ जना नेपालीहरुले ज्यान गुमाइसकेका छन् । कुल संख्यामध्ये आधा भन्दा बढी ६५ जनाको बेलायतमा मात्र निधन भएको छ । जसमा सबैभन्दा बढी ५२ जना भूतपूर्व गोर्खा सैनिकहरु छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू