शुक्रबार, चैत १६, २०८०
05:39 | ११:२४

नेपालमा ६ सय ८२ पुगे संक्रमित

रासस मे २५, २०२०

काठमाडौं । नेपालमा कोभिड-१९ को संक्रमण सोमबार थप सात जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया, काठमाडौँ र पर्सामा गरी नयाँ सात जना संक्रमण देखिएको बताए ।

उनका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशला, भेरी अस्पतालको प्रयोगशाला र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती नयाँ संक्रमित फेला परेका हुन् ।

नयाँ संक्रमितमा अछाम मेललेक गाउँपालिकाका ३२ वर्षीय पुरुष, बर्दिया गुलरिया नगरपालिका-२ र १० का क्रमश: १८, २२ र २४ वर्षीय पुरुष तथा पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरुष तथा काठमाडौँ महानगरपालिका-१५ घर भएका बाराको कलैयामा काम गर्ने २८ वर्षीय पुरुष छन् ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सोमबार थप एक जनाको मृत्यु भएको पुष्टि भएपछि नेपालमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

बारा जिल्ला कलैया नगरपालिका-७ का ती व्यक्तिको कोभिड-१९ को संक्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो । यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक/एक जनाको निधन भएको थियो ।

देशमा कोभिड-१९ बाट हालसम्म संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । संक्रमितमध्ये पुरुष ६ सय २ जना र महिला ८० जना छन् । उनीहरुमध्ये प्रदेश नं १ मा ८६ जना, प्रदेश नं २ मा २ सय ३५ जना, वाग्मती प्रदेशमा ३८ जना , गण्डकी प्रदेशमा पाँच जना, प्रदेश नं ५ मा २ सय ९२ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू