बिहीबार, वैशाख १३, २०८१
05:05 | ०९:५०

एनएचएस स्टाफको हौसला बढाउँदै ‘द २९०२९’


लन्डन । बेलायतको डोरसेटस्थित नेपाली व्यवस्थापनको एशियन रेष्टुरेन्ट ‘द २९०२९’ ले ‘कोभिड १९’ विरुद्ध अग्रमोर्चामा खटिएका ‘एनएचएस स्टाफको लागि निशुल्क खाना वितरण गरेको छ ।

कोरोना महामारीको बेलामा स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई हौसला प्रदान गर्न खाना वितरण गरिएको रेष्टुरेन्टका सञ्चालक उत्सव विष्टले बताए  ।

मे १९ र २० तारिखका दिन रेष्टुरेन्टको तर्फबाट करिब ८० जना स्थानीय एनएचएस स्टाफका लागि निशुल्क खाना उपलब्ध गराइएको थियो ।

रेष्टुरेन्टका म्यानेजर चेतन खरेलले मे १९ मा स्थानीय वेरहाम सर्जरीका ३० जना र मे २० का दिन स्वानेज कम्युनिटी अस्पतालका ५० जना कर्मचारीका लागि खाना वितरण गरिएको  जानकारी दिए । त्यस क्षेत्रका अरु केहि अस्पतालमा कार्यरत कर्मचारीका लागि पनि खाना वितरण गर्ने योजना रहेको खरेलले बताए ।

अस्पतालमै पुर्याएर खाना वितरण गर्ने क्रममा वेरहामस्थित एभेरेष्ट ट्याक्सीका भोज गुरुङले विशेष सहयोग गरेका थिए ।

करिब तीन दर्जन कर्मचारी कार्यरत ‘द २९०२९’ रेष्टुरेन्टमा प्रायजसो नेपाली र केहि युरोपियन तथा भारतीयहरु काम गर्दै आएका छन् । रेष्टुरेन्टको हेड सेफ शशीधर खरेल हुन् । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई (२९०२९ फिट) बाट नै रेष्टुरेन्टको नामाकरण गरिएको हो ।

उत्सव विष्ट, सिमलाल खरेल र माधव पोखरेलद्वारा सञ्चालित रेष्टुरेन्ट डोरसेट क्षेत्रमा एशियन रेष्टुरेन्टमध्येकै प्रतिष्ठित छ । त्यस्तै, ब्रोडस्टनमा रहेको रेष्टुरेन्टको अर्को शाखा पनि सो क्षेत्रको लोकप्रिय एशियन रेष्टुरेन्ट मानिन्छ ।

सन् २०१४ बाट सञ्चालन गरिएको ‘द २९०२९’ को ब्रोडस्टन शाखा सन् २०१७ मा खोलिएको हो । बेलायतको चर्चित पर्यटकीय स्थलहरुमध्येको एक डर्डल डोरबाट करिब ७ माइलको दुरीमा अवस्थित रेष्टुरेन्टले लकडाउन सुरु भएपछि पनि ‘टेक-अवे’ सेवालाई भने निरन्तरता दिंदै आइरहेको छ ।

हेरौं भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू