शुक्रबार, वैशाख १४, २०८१
17:12 | २१:५७

बेलायतमा लकडाउनविरुद्ध उत्रिए सर्वसाधारण

नेपाली लिङ्क मे १७, २०२०

लन्डन । कोभिड १९ संक्रमण रोक्न बेलायत सरकारले लागू गरेको लकडाउनविरुद्ध बेलायतभर शनिबार प्रदर्शन भएको छ । सानो संख्या भएपनि उक्त प्रदर्शनले जनता लकडाउनप्रति आजित भएको संकेतका रुपमा लिइएको छ ।

प्रदर्शनका क्रममा १९ व्यक्ति पक्राउ परेका छन् जसमा प्रतिपक्षी लेबर पार्टीका पूर्व नेता जेरेमी कोर्बिनका भाइ पियर्स पनि थिए ।

बेलायतका विभिन्न ठाउंमा भएको प्रदर्शनमा प्रदर्शनकारीले लकडाउनका कारण नागरिक अधिकार कुण्ठित भएको र यो गैर कानूनी हो जस्ता आवाज प्रस्तुत गरेका थिए ।

लन्डनको हाइड पार्कस्थित स्पिकर कर्नर्समा सरकारको सामाजिक दूरी निर्देशन अवज्ञा गर्दै करिब ५० जनाले प्रदर्शन गरेपछि प्रहरीले जरिवानासहित १९ व्यक्तिलाई पक्राउ गरेको थियो । उनीहरुले ‘त्रासरहित स्वतन्त्रता’ का पक्षमा नारा लगाएका थिए ।

साउथहयाम्पटनमा भएको प्रदर्शनमा करिब एक दर्जन प्रदर्शनकारीले ‘स्वतन्त्रताका लागि लडाईं’, ‘तानाशाही 
चाहिंदैन्’, ‘झुट बन्द गर’ जस्ता प्लेकार्ड बोकेका थिए । उक्त प्रदर्शनमा सहभागी एक महिलाले आफ्नो जागिर भएको हेयर एण्ड ब्युटी पेशा संकटमा भएको जनाउंदै नागरिक स्वतन्त्रता लगिएको प्रतिक्रिया दिएकी थिइन् ।

बेलफास्टमा पनि करिब २० जनाले सरकारी निर्देशन अवज्ञा गर्दै लकडाउनको निन्दा गरेका 
छन् । प्रहरी चेतावनीपछि करिब आधा घण्टाभित्र प्रदर्शनकारी तितरवितर भएका थिए ।

उता, स्कटल्याण्डको ग्लास्गोमा पनि प्रदर्शन भएको बेलायती अखबारले जनाएका छन् । त्यहां करिब ४ दर्जनजति प्रदर्शनकारी सहभागी भएर प्रथममन्त्री निकोला स्टर्जन ‘देशद्रोही हुन्’, ‘मिडिया होइन जनताको आवाज सुन’, ‘विज्ञहरु झुट बोल्छन्, जनता मर्छन्’ जस्ता नारा लगाएका थिए ।

धेरै नाम नसुनिएको ‘यूके फ्रिडम मुभमेन्ट’ नामक समूहले म्यानचेस्टर, साउथहयाम्टन, बर्मिङहम, लेस्टर जस्ता करिब ६० वटा प्रदर्शनका लागि अनलाइनमार्फत फ्लायर वितरण गरेको बताइएको छ ।

बेलायतमा २३ मार्चयता लागू भएको लकडाउनका कारण जनजीवन असहज छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत आइतबार 
बेलायतमा लकडाउन चरणवद्ध रुपमा खुला गर्न ‘सशर्त योजना’ सार्वजनिक गरि केही खुकुलो बनाएपनि बन्द रहेका व्यापार व्यवसाय, विद्यालय एवं अन्य सार्वजनिक स्थल तत्काल खुल्ने छैनन् ।

सरकारले लकडाउन पूर्णतः खुलाउन पांचवटा जांच पुरा हुनुपर्ने घोषणा यसअघि नै गरिसकेको छ । तिनमा पहिलो जांच राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले भार थेग्न सक्छ, दोश्रो, दैनिक मृत्युदरमा ‘लगातार र एकनासले कमी’, तेश्रो, नयां संक्रमणको दर व्यवस्थित गर्न सक्ने तहमा घट्नु, चौंथो कोरोनाको पर्याप्त परिक्षण तथा पीपीइको भविष्यमा हुने माग पुरा गर्न सक्ने सुनिश्चितता र पांचौंमा कुनै पनि नियम फेरबदल गर्दा त्यसले एनएचएसले थेग्न नसक्ने गरी फेरी दोश्रो उभार नल्याओस् भन्ने विश्वास हुनुपर्ने उल्लेख छ ।

बेलायतमा कोभिड १९ का कारण अहिलेसम्म करिब ३५ हजारले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू