शुक्रबार, वैशाख ७, २०८१
18:44 | २३:२९

अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि काँग्रेसद्वारा संसदमा प्रस्ताव दर्ता

रासस मे ११, २०२०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ‘कोरोना महाव्याधीबाट प्रभावित विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षितरुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न’ माग गर्दै संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

काँग्रेसले कोरोनाको अहिलेको महासंकट बेला विदेशमा अप्ठ्यारोमा परेका नेपालीले आफ्नो देशमा आउन खोज्नु र राज्यको संरक्षण पाउन खोज्नु स्वाभाविक मात्र नभई उनीहरूको अधिकार र नेपाल सरकारको दायित्व भएको भन्दै सोबारेमा छलफल गर्न सोमबार प्रस्ताव दर्ता गराएको जनाएको छ ।

यसैगरी सो बारेमा सर्वोच्च अदालतले आदेश दिइसकेको, संसदीय समितिहरूले ध्यानाकर्षण र निर्देशन गरेको सन्दर्भमा र संसारका विभिन्न मुलुकले आफ्ना नागरिकको व्यवस्थापन र सुरक्षित फिर्ती प्रक्रिया थालिसक्दासमेत नेपाल सरकारले गम्भीरतापूर्वक लिएको नदेखिएको भन्दै सोबारेमा छलफल गर्नुपर्ने आवश्यकता रहेको प्रस्तावमा उल्लेख छ ।

यस सन्दर्भमा सरकारले के कस्तो तयारी गरिरहेको छ सोको जानकारी सदनमा गराउन तथा भारत, खाडी मुलुकलगायत विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीलाई अविलम्ब नेपाल ल्याउन कार्ययोजना बनाई प्रक्रिया थाल्न तथा उनीहरूको व्यवस्थापनका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउन सदनले सरकारलाई निर्देशन दिन अपरिहार्य भएको भनी प्रस्तावमा जनाइएको छ ।

काँग्रेसका सांसद गगनकुमार थापा प्रस्तावक र डा डिला संग्रौला तथा प्रकाश रसाइली (स्नेही) समर्थक रहेको उक्त प्रस्तावमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्न र त्यसपछि तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विभिन्न कामका बारेमा सुझावसमेत उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू