शनिबार, वैशाख ८, २०८१
10:45 | १५:३०

नेपालमा एक संक्रमित थपिए, जम्मा १०२ पुगे

रासस मे ८, २०२०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा

काठमाडौँ ।  नेपालमा थप एक जनामा कोभिड १९ को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा नेपालगञ्जका १६ वर्षीय पुरुषमा संक्रमण देखिएको बताए ।

योसँगै नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ । संक्रमितमध्ये ७४ पुरुष र २८ महिला छन् । नेपालगञ्जमा संक्रमितको संख्या २४ पुगेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा ३०, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २७ र सुदूरपश्चिम प्रदेशमा पाँच संक्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा हालसम्म कसैमा कोरोना भाइरस संक्रमण  फेला परेको छैन । 

यसैगरी मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार शुक्रबार कोशी अञ्चल अस्पतालमा उपचाररत आठ जना स्वस्थ्य भएर घर फर्किएका छन् । उनीहरुमध्ये पाँच जना १७ औँ र तीन जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । अहिलेसम्म ३० जना स्वस्थ्य भएर घर फर्किसकेका छन् । 

त्यस्तै, हालसम्म ‘पिसिआर’ प्रविधिबाट १५ हजार ४९२ तथा आरडिटी प्रविधिबाट ५४ हजार ५३१ को परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८५९ वटा परीक्षण भएका छन् ।

प्रदेश नं १ मा छ हजार ८९९ प्रदेश नं २ मा पाँच हजार ६५६, वाग्मती प्रदेशमा नौ हजार ६०, गण्डकी प्रदेशमा छ हजार ३७७, प्रदेश नं ५ मा छ हजार ९९, कर्णाली प्रदेशमा छ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६१४ को परीक्षण गरिएको छ ।  

क्वारेन्टाइनमा १५ हजार ६२४ रहेका प्रवक्ता डा देवकोटाले जानकारी दिए । प्रदेश नं १ मा एक हजार ६४५, प्रदेश नं. २ मा एक हजार २९१, वाग्मती प्रदेशमा २७२, गण्डकी प्रदेशमा ५११, प्रदेश नं ५ मा पाँच हजार ८०७ कर्णाली प्रदेशमा दुई हजार ७०५ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ३९३ जना रहेका छन् । 

हालसम्म ‘आइसोलेसन’ मा  देशभर १३५ जना छन् । काठमाडौँमा तीन जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १३२ जना छन् । यसैगरी, ‘रेडजोन’ मा आज एक जना सहित अहिलेसम्म ३३६ जना रहेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू