शनिबार, वैशाख ८, २०८१
07:42 | १२:२७

‘टोएक पीडित’ विद्यार्थीका समस्या समाधान उन्मुख

झण्डै १२ सय नेपाली विद्यार्थी पनि थिए प्रभावित

रवि अर्याल मे ६, २०२०

फाइल तस्विर

संसार कोरोना भाइरसको संक्रमणबाट गुज्रिरहेको बेला बेलायत पनि यसबाट अछुतो छैन । यूरोपमै सबैभन्दा बढी मानिसले ज्यान गुमाइसकेको बेलायतमा यतिखेर कोरोनाबाहेकका अन्य धेरै विषय भने ओझेलमा परेका छन् । यूकेमा ‘कोभिड’ को छांयामा परेका महत्वपूर्ण विषय ब्रेक्जिट र आप्रवासीका मुद्धा पनि हुन् ।

इमिग्रेसन इतिहासमा झन्डै ५८ हजार अन्तर्राष्ट्रीय विद्यार्थीलाई प्रभाव पारेको अंग्रेजी भाषा परीक्षा ‘टोएक काण्ड’ आज चर्चाको विषय छैन । बेलायतको इमिग्रेसन क्षेत्रमा बहुचर्चित ‘विन्डरस जेनेरेसन’ पछिको सबैभन्दा ठूलो ‘स्क्यान्डल’ को रुपमा ‘टोएक काण्ड’ लाई लिइन्छ । संख्याकै हिसाबले ‘विन्डरस’ मा भन्दा पनि बढी मानिसहरु ‘टोएक कान्ड’ मा मुछिएका थिए ।

सन् २०१४ मा बिबिसीको ‘पानारोमा’ कार्यक्रमले अंग्रेजी भाषा परीक्षा ‘टोएक’ मा चरम लापरबाही र चोरी भएको ‘अन्डरकभर डकुमेन्ट्री’ तयार पारेको थियो । बेलायतमा अध्ययन गर्ने विदेशी विद्यार्थीले अनिवार्य पास गर्नुपर्ने भाषा परीक्षामा यो स्तरको अनियमितता भएको देखेपछि तत्कालीन होम सेक्रेटरी टेरिसा मेले कठोर कदम चालेकी थिइन् ।

यस परीक्षामा सहभागी सबैको परीक्षा रद्ध मात्र गरिएन, ३४ हजार विद्यार्थीलाई दोस्रो परीक्षाको अवसर नै नदिइकन अन्योलमा धकेलियो । उनीहरुलाई भाषा परीक्षा पास गर्न पैसा बुझाएको दोष लगाइयो र सबै भिसा रद्ध गरियो । यति मात्र हैन, यहि अंग्रेजी परीक्षाको कारण होम अफिसद्धारा ५७ वटा कलेज बन्द गराइएका थिए र तीन वटा विश्वविद्यालयको लाइसेन्स निलम्बन गरिएको थियो । होम अफिसको कठोर कदमको सर्वत्र आलोचना भयो ।

२५ सय विद्यार्थीलाई परीक्षामा बसेको कारण ‘डिपोर्ट’ गरियो भने आजसम्म १२ हजार भन्दा बढीले आफैं यूके छोडेर गएका छन् ।

यो भाषा परीक्षामा समातिने नेपाली विद्यार्थीको संख्या भने ११७६  (विद्यार्थी नेटवर्कमा आउने)  रहेको थियो । जसमध्ये केवल ८ जनाको रिजल्टले मात्र होम अफिस र परीक्षा लिने कम्पनीबाट मान्यता प्राप्त गरेको थियो । बांकी सबैले सरकारको तर्फबाट सास्ती भोगे । स्वतः देश छोडेर जानेको संख्या पनि उल्लेख्य छ ।

‘पानारोमा’ कार्यक्रम पछिको ६ वर्षमा थेम्स नदीमा धेरै पानी बग्यो । सरकारद्वारा आरोपित विद्यार्थीले यो बीचमा कानुनी लडाइं लडे । आफूहरुलाई कि त अर्को परीक्षा दिने मौका प्रदान गरिनुपर्ने अथवा अदालतमा आफ्नो निर्दोषता साबित गर्न पाउनुपर्ने मागमा डटिरहे ।

समय क्रममा यो मुद्धाले ठूलो स्थान पायो । अहिलेका प्रधानमन्त्री बोरिस जोन्सनकी भाइ बुहारी समेतले यो विषयमा कलम चलाइन् । मूलधारका मिडियाको कभरेज अनि अदालती निर्णयले यो विषय अब समाधान हुने करिब-करिब अन्तिम चरणमा पुगेको छ । यो मुद्धाले संसदमा मन्त्रीहरुको ध्यानाकर्षण मात्र गरेन, ‘नेशनल अडिट’ ले रिपोर्टसम्म तयार पार्यो । सयौं अनुसन्धान र प्रतिवेदन तयार गरिए ।

अन्ततः आज आएर सबै विद्यार्थीलाई आफू निर्दोष साबित गर्न एकपटक मौका मिलिरहेको छ । होम अफिस आफ्नो दृष्टिकोणमा अल्लि प्रष्ट देखिएको छ । अदालतमा गएर न्यायधिशका सामु आफूलाई निर्दोष साबित गर्ने विद्यार्थीहरुलाई होम अफिसले भिसा प्रदान गरिरहेको मात्र छैन, छ वर्षदेखिको भिसाविहिन बसाईलाइ समेत सदर गरिरहेको छ ।

कोही यो अंग्रेजी भाषा परीक्षा ‘टोएक काण्ड’ बाट पीडित हुनुहुन्छ भने तुरुन्त आफ्नो इमिग्रेसन वकिलसंग सम्पर्क गर्नुहोस्, समस्या सुल्झाउने मौका छ ।

(लेखक टोएक पीडित विद्यार्थीको अभियानमा सक्रिय भएका एक अगुवा विद्यार्थी हुन् ।)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू