शनिबार, वैशाख ८, २०८१
02:08 | ०६:५३

के ओरालो लागेकै हो त बेलायतमा महामारी ?

दोस्रो 'पीक' को जोखिम कति ?

नेपाली लिङ्क मे १, २०२०

हडर्सफिल्ड युनिभर्सिटीका एशोसिएसट डीन एवम् जनस्वास्थ्य विज्ञ प्रा डा पदम सिम्खडा ।

कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुक बेलायतमा अब संक्रमण ओरालोतर्फ लाग्न थालेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले नै देशले महामारीको उत्कर्ष (पीक पोइन्ट) पार गरिसकेको बताएका छन् ।

बेलायतमा नयाँ संक्रमणका केस तथा दैनिक मृत्यु हुने र अस्पताल भर्ना हुनेहरुको संख्या पनि घट्न थालेको पुष्टी सरकारी अधिकारीहरुले गरेका छन् ।

यसै सन्दर्भमा बेलायतमा महामारीको वर्तमान अवस्था, घट्न लागेको भनिएको नयाँ संक्रमणको दर, फेरि दोस्रो ‘पीक पोइन्ट’ आउने जोखिम लगायतका विषयमा बेलायतको ‘हडर्सफिल्ड विश्वविद्यालय’ का एशोसिएट डीन एवम् जनस्वास्थ्य विषयका विज्ञ प्राध्यापक डा पदम सिम्खडासंग नेपाली लिंकले गरेको संवाद :

बेलायतमा कारोनाको महामारी अब ओरालो लागेकै हो त ?

कमसेकम अहिलेको लागि ओरालो लाग्न थालेको संकेतहरु मिलेका छन् । आजको दिनमा जुन दरमा संक्रमण फैलिइरहेको छ, त्यसले संक्रमण घट्न थालेको देखाएको छ ।

सरकारले जारी गरेका आधिकारिक तथ्यांकले पनि संक्रमण अब घट्ने दिशातर्फ उन्मुख छ भनेर पुष्टी गरिसकेको छ । घट्दो क्रममा भएपनि संक्रमण उच्च तहमै छ ।

ठूलो जोखिम बाँकी छैन भनेर ढुक्क हुने अवस्था अझै आइसकेको छैन । विश्वव्यापी रुपमा समेत पछिल्लो केहि दिनमा अपवादबाहेक संक्रमणका नयाँ केसहरु घट्न लागेको देखिन्छ ।

महामारी ओरालोतर्फ लागेको भनेर बुझाउने संकेतहरु के के छन् ?

अहिले महामारी कुन दिशातर्फ जाँदैछ, बढ्दो क्रममा छ वा घट्दैछ भनेर थाहा पाउने केहि सूचकहरु हुन्छन् । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण संक्रमणका नयाँ ‘केस’ र अस्पताल भर्ना हुनेहरुको संख्या हुन् । जुन दुवै अहिले बेलायतमा घट्न थालेका छन् ।

त्यस्तै, यहि संक्रमणका कारण दैनिक रुपमा भइरहेका मृत्युको संख्या पनि घट्न थालेको तथ्यांकले देखाउँछ । यीनै संकेतहरुका आधारमा बेलायतमा नयाँ संक्रमण अब ओरालोतर्फ लागेको ठानिएको हो ।

तर संक्रमणका नयाँ केस र मृत्युको संख्या त अझै पनि उच्च नै देखिन्छन् नि ?

नयाँ संक्रमणको दर घट्नु महत्वपूर्ण कुरा हो । संख्या मात्रै हेरेर वास्तविकता बुझ्न सकिंदैन । बेलायतले पछिल्लो केहि दिनमा दैनिक परीक्षणको संख्या जसरी बढाएको छ, त्यहि अनुपातमा संक्रमणको संख्या बढेका छैनन् ।

उदाहरणको लागि पहिला दैनिक २० हजार परीक्षण गर्दा ४ हजार केस भेटिन्थे भने अहिले दैनिक ८० हजार परीक्षण गर्दा ६ हजार भेटिएका छन् । यसलाई परीक्षणको अनुपातमा संक्रमण घटेको रुपमा बुझ्नुपर्छ ।

संक्रमण घट्न थाल्नेबित्तिकै मृत्युको संख्या पनि घट्छ नै भन्ने हुँदैन । आज मृत्यु हुने मानिसहरु आजै संक्रमित भएका होइनन्, उनीहरु हप्तौंअघि संक्रमित भएका हुन् । फेरि आज बाहिर आउने मृतकको संख्या पनि आजकै नभएर केहि दिनअघिकै हुन सक्छ ।

अन्य देशको तुलनामा बेलायतमा संक्रमणबाट निको हुनेको संख्या न्यून हो ? किन तथ्यांक बाहिर ल्याइंदैन ?

होइन । बेलायत सरकारले शुरुदेखि नै आफ्नो तथ्यांकलाई अन्य देशहरुसंग तुलना गर्न नचाहेको देखिन्छ । अन्य देशहरुबाट सार्वजनिक हुने तथ्यांक वास्तविक नहुन पनि सक्छन् वा साँचो तथ्यांक लुकाइएको हुन सक्छ भन्ने उसको बुझाइ छ । त्यसैले पनि निको हुनेको संख्या अहिलेसम्म बाहिर ल्याउने गरिएको छैन । फेरि, फरक-फरक अवस्थाका तथ्यांकको तुलनाले ‘मिसलिड’ गर्न सक्छ भनेर पनि सरकार सतर्क बनेको हो ।

अर्को कुरा, अन्य देशको तुलनामा बेलायतमा संक्रमण फैलिएको पनि केहि साता पछि मात्रै हो । यहाँ ‘पीक पोइन्ट’ पार भएको पनि धेरै भइसकेको छैन । संक्रमण भएर निको हुन पनि केहि साताको समय लाग्ने भएकाले धेरै मानिसहरु निको हुने समय बल्ल आउँदैछ । अब बिस्तारै निको हुनेकोे संख्या पनि बाहिरिने आशा गर्न सकिन्छ ।

संक्रमण फेरि बढ्न सक्ने जोखिम कति रहन्छ ?

अहिले घट्न शुरु भएको संक्रमण फेरि बढ्छ कि बढ्दैन भन्ने कुरा धेरै पक्षमा निर्भर रहन्छ । यो संक्रमणको महामारीलाई निर्मुल नै गर्नका लागि यसविरुद्धको खोप वा औषधि अनिवार्य छ । खोप वा औषधिका लागि जति समय लाग्छ, त्यति नै समयसम्म संक्रमण फेरि बढ्न सक्ने जोखिम रहन्छ नै ।

त्यस्तै, अन्य देशहरुमा महामारी कसरी अघि जान्छ भन्ने अवस्थाले पनि बेलायतमा महामारीको दोस्रो पीक आउने सम्भावना प्रभावित हुन सक्छ ।

साथै, अहिले जुन लकडाउन, सामाजिक दूरी लगायतका सावधानीहरु अवलम्बन गरेका कारण संक्रमण घट्न थालेको छ, आउँदा दिनमा ती सावधानीहरु कत्तिको पछ्याइन्छ भन्ने कुरा पनि महत्वपूर्ण छ । आवश्यक रुपमा सावधानी र सतर्कता कायम राख्न सके दोस्रो दोस्रो ‘पीक पोइन्ट’ को जोखिम टार्न पनि सकिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू