बिहीबार, वैशाख १३, २०८१
14:16 | १९:०१

कोरोना संक्रमणका थप नयां लक्षण देखिए

नेपाली लिङ्क अप्रिल २८, २०२०

लन्डन । विश्वभर कोभिड १९ पिकमा पुगिरहंदा यसका लक्षणहरु पनि निरन्तर परिवर्तन हुंदै गएका स्वास्थ्यविदहरुले जनाएका छन् । अमेरिकास्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले कोरोना संक्रमणका थप नयां लक्षणहरु समावेश गरेको हो ।

पछि भेटिएका थप लक्षणहरुमा चिसो लाग्ने, मांशपेशी, घांटी दुख्ने, खानाको स्वाद थाहा नपाउने र सुंघ्ने शक्ति कमजोर हुने छन् । नयां लक्षणहरुबाट पनि सचेत रहन अनुरोध गरिएको छ ।

सिडिसीका अनुसार २ देखि १४ दिनभित्रमा यस्ता लक्षणहरु देखिन सक्छन् । श्वासप्रश्वास सम्बन्धि समस्या, छातीको दुखाई, उठ्न गाह्रो हुने वा कमजोरी महशुस भएमा र अनुहार वा ओठको रंग कालो भएमा तुरुन्त स्वास्थ्यकर्मीसंग सम्पर्क राख्न पनि सिडिसीले अनुरोध गरेको छ । साथै पछिल्लो समयमा पखाला पनि कोरोना संक्रमणको अर्को लक्षणको रुपमा देखिंदै आएको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरस शरीरमा प्रवेश गरेर यसको लक्षण देखिन १४ दिनसम्म लाग्न सक्छ । कोरोना भाइरस संक्रमणको लक्षण सामान्यतया ५ दिनसम्ममा देखिने भएपनि केहि व्यक्तिमा यो भन्दा कम समयमा पनि देखिएको डब्लुएचओले बताएको छ ।

सामान्यतया यस भाइरसले मानिसको फोक्सोमा असर पार्ने भएकाले उच्च ज्वरो र सुख्खा खोकीका कारण श्वासप्रश्वासमा समस्या उत्पन्न हुनु यसको मुख्य लक्षण हो । शरीरको तापक्रम ३७.८ डिग्री सेल्सियससम्म बढ्ने भएकाले शरीर तातो हुने वा जाडो महशुस हुनुका साथै कम्पन समस्या उत्पन्न हुनसक्छ ।

सामान्यतया आइसोलेसनका प्रक्रिया भन्दा थप फरक समस्या भएमा वा श्वासप्रश्वासमा असहज महशुस भए तुरुन्तै स्वास्थ्यकर्मीलाई खबर गर्न सुझाइएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) अहिले विश्वका १ सय १० मुलुकमा फैलिइसकेको छ । भाइरसको महामारी शुरु भएको ५ महिना पुग्न लाग्दा यसको सम्भावित खोपको विकास बल्ल मानव
परीक्षणको रुपमा पुगेको छ । विश्वभर कोरोना संक्रमणका कारण अहिलेसम्म २ लाख १४ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने यो संख्या दैनिक बढ्ने क्रममा छ । यसको औषधि नभएका कारण व्यक्तिगत सरसफाई, सामाजिक दूरी, आइसोलेसन लगायतका सावधानी नै कोरोना भाइरस संक्रमण नियन्त्रणको एकमात्र उपाय हो ।

यसको नियन्त्रणका लागि बढी संक्रमित मुलुकहरुले लकडाउन अर्थात बन्दाबन्दीको घोषणा गरेका
छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू