शुक्रबार, वैशाख ७, २०८१
01:49 | ०६:३४

कोरोनाले निधन भएका गुरुङको लण्डनमा अन्त्येष्ठी

नेपाली लिङ्क अप्रिल २४, २०२०


लण्डन । कोरोना संक्रमण भएर केहि साताअघि निधन भएका चेतप्रसाद गुरुङको विहीबार लण्डनमा अन्त्येष्ठी भएको छ ।

तमुधिं लण्डन ईकाइका वरिष्ठ उपाध्यक्ष समेत रहेका स्वर्गीय गुरुङको लण्डनको गोर्डन्स ग्रिनस्थित क्रिमेटोरियममा अन्त्येष्ठी गरिएको थियो ।

अन्त्येष्ठी कार्यक्रममा परिवारका सदस्य र तमुधिं यूकेका पदाधिकारीसहित १० जना मात्रै सहभागी भए ।

गुरुङको पार्थिव शरीरमा तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले संस्थाको झण्डा ओढाएर सम्मान गरेका थिए । स्वर्गीय गुरुङले संस्था र समाजका लागि लामो समयदेखि पुर्याउँदै आएको योगदानस्वरुप उक्त सम्मान दिइएको तमुधिंले जनाएको छ ।

अन्त्येष्ठीका क्रममा तमुधिं लण्डन इकाईका महासचिव भरत गुरुङले स्वर्गीय गुरुङको संस्थाप्रतिको लगाव र योगदानको चर्चा गरेका थिए ।

कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले गर्दा अन्त्येष्ठीमा गुरुङका कैयौं निकट आफन्त र तमुधिं यूकेका सदस्यहरु सहभागी बन्न पाएनन् ।

‘यो जटिल समयमा अन्त्येष्ठीमा समेत उपस्थित भएर चेतजीप्रति श्रद्धाञ्जली लिन नपाउँदा झन् दुखी छौं’, तमुधिं यूकेका संस्थापक अध्यक्ष मिन कोन्मेइ गुरुङले भने, ‘संस्था र समाजको लागि धेरै योगदान गर्नुभएको छ । हामीले कहिल्यै बिर्सने छैनौं ।’

गैरआवासीय नेपाली संघ यूके, तमुधिं यूके, पैयुंखोला समाज यूके, चारभञ्ज्यांग समाज यूके, १९७९ नम्बरी पार्टी, बिबिसी लण्डन शाखा, सोपाल समाज यूके, साउथ ईष्ट रिजनल तमुधिं, तमुधिं लण्डन इकाई, तमुधिं लण्डन आमा समूह लगायत संघसंस्थाले स्वर्गीय गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पर्वत पैयूंखोला स्थायी घर भइ लण्डनको वेम्बली बस्दै आएका पूर्व गोर्खा गुरुङको अप्रिल ७ तारिख नर्थविक पार्क अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । उनी ५९ वर्षका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू