बुधबार, वैशाख १२, २०८१
02:41 | ०७:२६

लकडाउन कहिले खुल्छ ?

गोपी सापकोटा अप्रिल ९, २०२०

लेखक गोपी सापकोटा

यतिखेर कोरोनाले गर्दा हामी सबैजना लकडाउनमा छौं । अमेरिका होस् या बेलायत, भारत होस् या नेपाल जताततैको स्थिति उस्तै छ ।

जनजीवन सामान्य छैन, जताततै छटपटी मात्रै छ । यो लकडाउन कहिले सकिएला र पुनः स्वतन्त्र भएर हिड्न पाइएला भनेर हामी छट्पटाइरहेका छौं । कहिले पहिलेको जस्तै सामान्य जनजीवनमा फर्कन पाइएला भनेर सोचिरहेका छौं ।

फूर्सद भएर कहिले घरमा बस्न पाइएला भनेर घर बस्ने समयको कल्पना गरेकाहरु पनि अहिले हैरान भएका छन् । लकडाउनले प्रत्यक्ष आर्थिक समस्या परेकाहरु त झनै आत्तिएका छन् ।

यो बेला एउटा कुरा भने राम्रो भएको छ । अरु बेलामा फुर्सद नभएर बोल्न नपाएका साथी भाईहरुसँग फोनमा कुरा गरेर सन्चो बिसन्चोदेखि देश–विदेशको बारेमा चिन्तन गर्न पाएका छौं ।

हामीले साथी भाईसँग कुरा गर्दा एकले अर्कोलाई सोध्ने एउटा साझा प्रश्न छ, ‘यो लकडाउन कहिले खुल्छ ?’ तर दुःखको कुरा यो यस्तो प्रश्न हो, जसको निश्चित उत्तर कसैलाई पनि थाहा छैन । कुन देशमा कसरी रोगको प्रकोप कम हुँदै जान्छ, त्यही अनुसार नै लकडाउन खुल्दै जाने कुरा आउँछ ।

मैले यो लेख लेख्दै गर्दा बेलायतको स्थिति गम्भीर छ । बेलायतमा गत चौबिस घण्टामा ९३८ जनाको मृत्यु भएको छ । त्यही तथ्याङ्कलाई मिनेटमा बदल्ने हो भने लगभग प्रत्येक दुई मिनेटभन्दा कम समयमा एक जनाको मृत्यु हुने गरेको छ ।

अब लकडाउन खुल्ने सम्भावनाको कुरा गरौं:
रोग चीनबाट शुरु भएको थियो । चीनले नै यो समस्याको लगभग पुरा चक्र पार गरिसकेको छ । हालै एउटा समाचारमा चीनमा ७६ दिनपछि लक डाउन खुलेको कुरा आएको छ । अहिले भइरहेको लकडाउन रोगलाई सर्न नदिनका लागि गरिएको हो । रोगको कुनै औषधी बनेको छैन । रोग लागिहाल्यो भने आफ्नै शरिरभित्र भएको प्रतिरोधात्मक शक्तिले रोगसँग लड्ने हो ।

यो रोगलाई दीर्घकालीन रुपमा समाधान गर्ने मात्र दुई वटा उपाय छन् । एउटा यसको औषधी बन्नु र अर्को मानिसहरुमा यो रोगसँग लड्न सक्ने क्षमताको विकास हुनु । औषधी बन्नका लागि लामो समय लाग्छ । त्यसको प्रक्रिया नै लामो हुन्छ । करिब एक बर्षदेखि अठार महिनासम्ममा औषधि पत्ता लाग्यो भने राम्रो प्रगति मान्न सकिन्छ । लगभग सबै विकसित देशका बैज्ञानिकहरु त्यसमा लागिरहेका छन् । उनीहरुले सकेसम्म चाडै औषधि पत्ता लगाउलान् भनेर आशा गर्न सकिन्छ ।

औषधी नभएको बेलामा रोगको अर्को समाधान ‘हर्ड इम्युनिटी’ हो । जनसंख्याको करिब असीदेखि पन्चानब्बे प्रतिशत मानिसहरु रोगसँग कुनै न कुनै रुपमा सम्पर्कमा आए भने र उनीहरुमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति विकसित भयो भने रोगको प्रकोप कम हुन जान्छ ।

लकडाउनको अवस्थामा ‘हर्ड इम्युनिटी’ बनाउन सकिंदैन । ‘हर्ड इम्युनिटी’ बनाउन लकडाउन खुलाउने हो भने एकैपटक धेरै मानिसहरुलाई रोग लाग्छ । त्यस्तो अवस्थामा देशका अस्पतालहरुले बिरामीहरु धान्न सक्दैनन् ।

लकडाउनका सामाजिक र आर्थिक असरहरु पनि छन् । तिनीहरुले पनि लकडाउन खुलाउनका लागि अप्रत्यक्ष रुपमा दबाब दिइरहेका हुन्छन् । त्यसैले यो महामारीको अवस्थासँग कसरी जुध्ने भनेर सरकारले चिकित्सक र वैज्ञानिकहरुको सल्लाह र सुझाव लिएर मात्रै निर्णय गर्छ ।

सामाजिक, आर्थिक, हर्ड इम्युनिटी, अस्पताल र स्वास्थ्य संयन्त्रको क्षमताजस्ता पक्षहरुलाई सन्तुलनमा राखेर मात्रै लकडाउन खुल्नेछ भनेर अनुमान लगाउन सकिन्छ ।

(समसामयिक विषयमा कलम चलाउँदै आएका लेखक कवि तथा नाटककार पनि हुन् ।)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू