शुक्रबार, वैशाख १४, २०८१
23:29 | ०४:१४

बेलायतमा मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

नेपाली लिङ्क अप्रिल ८, २०२०

बेलायतमा कोरानाको कारण ज्यान गुमाउनेहरुको कुल संख्या ७ हजार ९७ पुगेको छ ।

लण्डन । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या एक दिनमै ९ सय भन्दा बढिले वृद्धि भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’का अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै बेलायतभर ९ सय ३८ जनाको मृत्यु भएको छ ।

यससंगै मंगलबार साँझ ५ बजेसम्म बेलायतमा कोरानाको कारण ज्यान गुमाउनेको कुल संख्या ७ हजार ९७ पुगेको छ ।

बेलायतमा चौबिस घण्टाको अवधिमा मृत्यु भएकाको संख्या यो नै अहिलेसम्मको सबैभन्दा उच्च हो । बुधबार बिहानसम्ममा बेलायतमा संक्रमित हुनेहरुको संख्या पनि बढेर ६० हजार ७ सय ३३ भएको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या पनि ५ हजार भन्दा बढि वृद्धि भएको हो ।

बेलायतमा अहिलेसम्म जम्मा २ लाख ३२ हजार ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण परीक्षण गरिएको छ । मंगलबार मात्रै १४हजार ६ सय ८२ परीक्षण भएका छन् । सार्वजनिक यो तथ्यांकमा बेलायतका विभिन्न अस्पतालमा मृत्यु हुनेहरु मात्रै समावेश छन् । केयर होमसहित अन्यत्र मृत्यु भएको संख्या यसमा जोडिएको छैन ।

मृत्युहरुको पछिल्लो प्रवृत्ति हेर्दा बेलायत पनि कोरोनाबाट अति प्रभावित इटली र स्पेन जस्ता युरोपेली मुलुककै मार्गतर्फ उन्मुख देखिन्छ । अबको एकदेखि डेढ सातासम्ममा बेलायत पनि कोरोना महामारीको ‘पिक पोइन्ट’मा पुग्ने आँकलन छ ।

कोरोना संक्रमण फैलिन रोक्ने प्रयासमा सरकारले जारी गरेको ‘लकडाउन’ पनि अहिले तेस्रो सातामा छ । तीन साताका लागि भनेर गरिएको ‘लकडाउन’बारे आउँदो साता सरकारले ‘रिभ्यू’ गर्ने बताइएको छ । तर ‘लकडाउन’ खुकुलो पार्ने सम्बन्धमा भने अहिले नै सोच्ने बेला आइनसकेको मन्त्रीहरुले बताउने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू