शुक्रबार, वैशाख १४, २०८१
15:45 | २०:३०

कोरोनाविरुद्धको लडाईंमा सफलता मिल्ने महारानीको विश्वास

बेलायती महारानी एलिजावेथ द्वितीय

लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयले कोरोना भाइरसविरुद्धको लडाईंमा देशलाई सफलता मिल्ने विश्वास व्यक्त गरेकी छन् ।

आइतबार साँझ टेलिभिजन तथा रेडियोहरुमा प्रसारण गरिएको रेकर्डेड भिडियो सम्बोधनमार्फत उनले चुनौतिपूर्ण समयमा काममा खटिएका सबै ‘कि वर्कर’ हरुलाई धन्यवाद ज्ञापन गरेकी छन् । ‘हामीले चुनौतिहरु पहिला पनि सामना गरेकै थियौं, तर यसपटकको चुनौति फरक छ’, सम्बोधनमा महारानीले भनेकी छन्, ‘यसपटक हामी संसारभरका सबै राष्ट्रहरुसंग मिलेर एउटै साझा प्रयासमा छौं । हामी सफल हुनेछौं र त्यो सफलता हामी सबैको हुनेछ ।’

आफ्नो सम्बोधनका क्रममा महारानीले सरकारको निर्देशनलाई मानेर घरमै बस्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् । अरुको सहयोगमा जुट्नेहरुको प्रशंसा समेत गरिन् ।

असहज परिस्थितिमा आफ्नो प्रियजनहरुबाट समेत टाढा हुन बाध्य भएकाहरुप्रति सहानुभुति राख्दै उनले भनिन्, ‘हामीले सामना गर्नुपर्ने अझै थप पीडाहरु पनि हुन सक्छन्, तर राम्रा दिनहरु आउनेछन् । हामी फेरि पनि हाम्रो साथीहरुसंग हुनेछौं । हाम्रो परिवारहरुसंग हुनेछौं, हामीहरु फेरि पनि भेट्नेछौं ।’

९३ वर्षीया महारानी विगत ६८ वर्षदेखि बेलायतको राजगद्धीमा छन् । यति लामो अवधिमा पनि देशवासीका नाममा उनले विशेष सम्बोधन गरेको भने यो पाचौं अवसर मात्र हो ।

यसअघि आफ्नो राज्यारोहणको ६० वर्ष पुगेको अवसरमा सन् २०१२ मा विशेष सम्बोधन गरेकी उनले त्यसअघि सन् २००२ मा आफ्नी आमाको अन्त्येष्ठीको पूर्वसन्ध्यामा, सन् १९९७ मा युवराज्ञी डायनाको अन्त्येष्ठीको पूर्वसन्ध्यामा र सन् १९९१ मा इराक युद्ध शुरु हुने बेला विशेष सम्बोधन गरेकी थिइन् ।

यसपटक भने कोरोनाविरुद्धको लडाईंमा देशवासीको मनोबल उच्च पार्ने लक्ष्यसहित प्रधानमन्त्री कार्यालयकै परामर्शमा उनले यो विशेष सम्बोधन गरेको बुझिएको छ ।

हेरौं सम्बोधनको भिडियो (भिडियो स्रोत: बीबीसी)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू