कोरोना, भय र मृत्यु
अहिले जताततै कोरोनाको चर्चा छ । चर्चा पनि किन नहोस् ? कोरोनाको कारणले आजको आधुनिक एक्काइसौं शताब्दीमा पनि हजारौं व्यक्तिको ज्यान गएको छ । विश्वका निकै धनी र प्रभावशाली मुलुकहरुमा झन् संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । विश्वको हरेक मुलुकमा यसको त्रास छ । कोरोनाको कारण विश्वव्यापी र दीर्घकालिन रुपमा धेरै कुराहरु जस्तै आर्थिक, सामाजिक, राजनीतिक आदि कुरामा नकारात्मक प्रभाव पर्ने निश्चित छ । हरेक व्यक्ति, समाज र मुलुकमा कस्तो र कति प्रभाव पर्छ अहिले नै किटान गर्न सकिने अवस्था भने छैन् ।
कोरोनाको कुरा गर्दा कोरोनासंगै अरु दुई कुराहरुको पनि चर्चा छ । त्यो हो कोरोना संक्रमित हुने मानिसहरुको संख्या र कोरोनाका कारण मर्ने मानिसहरुको संख्या । आजकल हरेक समाचारमा यी दुई कुरा नछुट्ने विषय भएका छन् । जसको कारण मानसिक रुपमा हरेक मानिसको मनमा मलाई पनि कोरोनाले छुने पो हो कि ? म पनि यसैको कारण मर्छु कि? भन्ने चिन्ता थपिएको छ ।
विश्वव्यापी कोरोनाको महामारी र प्रकोपको अवस्थामा अहिले कोरोनाको कारणले सबैको मनमा कुनै न कुनै भय र त्रास छ । अहिले सबैमा मुख्य रुपमा तीन किसिमको भय छ । पहिलो संक्रमणको भय, दोश्रो संक्रमणबाट मरिने पो हो कि भन्ने भय र तेश्रो यी दुबैको कारणले आफूलाई पर्ने नकारात्मक असरको भय । भय सधैं नराम्रो हुन्छ भन्ने छैन् । संकट र भयले मान्छेलाई भित्रै देखि धेरै कुरामा सोच्न, जीवन ब्यवस्थित बनाउन र अप्ठ्यारो परेको बेला पनि बांच्न, हांस्न र जीउन सिकाउंछ ।
हुन त अहिले पनि विश्वमा लाखौं दैनिक मजदुरी गरी जीविकोपार्जन गर्नेहरुका लागि दैनिक छाक कसरी टार्ने भन्ने चिन्ता छ । त्यति मात्रै हैन जागिर गुमाउनेहरुका लागि, व्यवसायमा असर पर्नेहरुका लागि, आर्थिक रुपमा नोक्सानी पर्नेहरुको लागि आदि धेरै मानिसहरुका लागि अनेकौं चिन्ता र भय थपिएको छ । यो स्वभाविक पनि हो । तर, कुनै न कुनै रुपमा सबै क्षेत्र, व्यक्ति, समाज र मुलुक प्रताडित हुनु परेकाले एउटा पीडितले अर्को पीडितको दुःख हेरेर चित्त बुझाउने अवस्था पनि छ ।
मानिसको समग्र गुण र दोषको परीक्षण सुःख र दुःख दुवै अवस्थामा हुन्छ । यस्तो अवस्थामा पनि सकारात्मक सोच, विचार गर्दै राम्रो जीवन जीउनु जरुरी छ । यो समय व्यर्थमा खेर फाल्ने समय होइन् । हरेक दुःख वा चुनौती संगै अवसरको ढोका पनि खुल्छ । कोरोनाले सबैतिर तहल्का गरेको बेला मृत्युको भयसंगै आपसी भाइचारा, सामाजिक र पारिवारिक माया, प्रेम र स्नेह पनि बढ्दै गइरहेको छ । मानिसमा सहयोगको भावना बढेको छ । जीवन प्रतिको सोच र जीवन जिउने शैली बदलिएको छ । यो राम्रो पनि हो ।
यो संकटको बेला आखिर जीवन के रहेछ र ? भन्नेको संख्या पनि उल्लेख्य छ । अहिले मर्ने नै हो भने राम्रो काम गरेर मर्छु पर्छ भन्नेहरु पनि छन् । हुन पनि हो, मृत्यु शाश्वत सत्य हो । कहिले र कसरी मरिन्छ भन्ने मात्रै हो, मर्नु त पक्का छ एकदिन । एकदिन मर्नु नै छ भने यो बेला किन मृत्युसंग डराउने ? भनिन्छ नि, लेखेको कुरा कसैले टार्न सक्दैन् । श्रीमद् भागवत गीतामा पनि जन्मेपछि मृत्यु पक्का छ र जुन कुरा पक्का छ, त्यसका लागि शोक गर्नु वा चिन्ता गर्नु ब्यर्थ छ भन्ने कुरा उल्लेख गरिएको छ ।
अपवाद बाहेक मानिसको बानी नै कस्तो हुन्छ भने आफू स्वर्ग जाने इच्छा राख्छ, तर मृत्युसंग डराउंछ । एकदिन मर्छु भन्ने थाहा छ, तर ब्यवहार भने आफू सधैं अनन्तकाल सम्म बांच्छु भन्ने गर्छ । लोभ, क्रोध, मोह आदि सबै कुरा बाट टाढा हुनुपर्छ भन्ने दर्शनका कुरा गर्छ, तर आफू त्यसैको चक्करमा फस्छ । सुःख र दुःख दुवै क्षणिक हुन् भन्ने थाहा छ, तर सुःखमा मात्तिने र दुःखमा आत्तिने गर्छ ।
भयसंग पौठेजोरी खेल्दै होस् वा मृत्युलाई नजिकैबाट नियाल्दै होस्, जस्तोसुकै अवस्थामा पनि जीवन चल्छ । तर, जीवन कसरी जिउने र आफ्नो जीवनलाई कस्तो बनाउने छनौट आफ्नै हो । कोरोनाको भयलाई संकट मानेर तर्सिने वा भय पनि जीवनको एउटा पाटो हो भनेर सामान्य हुने छनौट आफ्नै हो ।
मृत्युलाई शाश्वत सत्य मानेर बांचेसम्म सफल जीवन जीउने वा अब मरिने भइयो भनेर सबै लत्तो छोड्ने त्यो पनि आफ्नै छनौट हो । कोरोना भाइरसको विश्वव्यापी प्रकोपले गर्दा अब म पनि संक्रमित हुन्छु कि? वा म पनि अब मर्छु कि? भन्ने भय र त्रासमा बांच्ने होइन । कोरोना भाइरसबाट बच्नु र सबैलाई बचाउनु सरकार, समाज, आम नागरिक, हरेक परिवार र व्यक्तिको कर्तब्य र जिम्मेवारी हो । हामी सबै निर्भय हौं, बिज्ञ र जनस्वास्थ्य अधिकारीले दिएको सुझावको पूर्ण पालना गरौं, ढुक्कसंग बांचौ र अरुलाई पनि बचाउं ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५