शुक्रबार, वैशाख ७, २०८१
04:34 | ०९:१९

बेलायती सांसदसंग उपप्रधानमन्त्रीले उठाए गोर्खा मुद्दा

रासस मार्च १९, २०२३

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र बेलायती सांसद वीरेन्द्र› शर्माबीच आइतबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता हुंदै । तस्बिर- चन्द्रकला क्षेत्री/रासस

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग बेलायतका सांसद बीरेन्द्र शर्माले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सांसद शर्मा बेलायत–नेपाल सर्वदलीय सांसद समूहको सभापति हुन् ।

सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीचको सम्बन्ध स्मरण गर्दै बेलायती सेना र ब्रिटिश गोर्खा सेनाबीच समानता हुनुपर्ने धारणा राखेको उनका प्रेस संयोजक कमल गिरीले जानकारी दिए । उपप्रधानमन्त्री श्रेष्ठले समस्या समाधान गर्ने विषयमा चासो राख्दै यसमा सांसद शर्माबाट विशेष सहयोगको अपेक्षा गरेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलकबाट स्तरोन्नति हुँदै गरेको प्रसंगमा बेलायती सरकारबाट प्राप्त हुने सहयोगको अपेक्षा गर्दै तथा नेपालले पाउँदै आएको सुविधा निरन्तर कायम राख्न अनुरोध गरे ।

जलवायु परिवर्तनका विषयमा बेलायतले खेलेको भूमिकाको सराहना गर्दै उनले भने, “जलवायु परिवर्तनको असर र मार नेपालजस्तो मुलुकमा बढी परेको छ । यसमा बेलायतको भूमिका थप प्रभावकारी रहोस् भन्ने हाम्रो चाहना छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले बेलायत र नेपालबीचको व्यापार र पूर्वाधारमा बेलायतबाट हुने सहयोगबारे चासो राखे ।

भेटका क्रममा बेलायती सांसद बीरेन्द्र शर्माले व्रिटिश गोर्खाको योगदान र भूमिकाको विषयमा आफू सकारात्मक रहेको बताउँदै समानता विषयमा आवश्यक आवाज उठाइरहेको बताएका थिए ।

बेलायतले असमान सुविधाको विषयमा सरकारी पक्षबाट अध्ययन भएको र आगामी तीन महिनामा यस विषयले निकास पाउने जानकारी दिँदै यसमा आफूले यथाशक्य सघाउने प्रतिबद्धता गरे ।

उनले अतिकम मुलुकबाट स्तरोन्नति भएसँगै नेपालले प्राप्त गर्ने सहयोगलाई निरन्तरता दिने विषयमा आफू सकारात्मक रहेको जानकारी गराएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू