शुक्रबार, चैत १६, २०८०
10:57 | १६:४२

क्यालिफोर्निया गोलीकाण्डमा १० जना मारिए

रासस/एएफपी जनवरी २२, २०२३

मोन्टेरी पार्क, संयुक्त राज्य अमेरिका, ८ माघ-अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन् ।

स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।

लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयु मेयर्सका अनुसार अधिकारीहरुले शनिबार राति १० बजेर २० मिनेट जाँदा आपतकालिन कलको जवाफ दिएका थिए ।

मेयर्सले भने, “अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए ।”

‘मोन्टेरी पार्क प्रहरी फायर डिपार्टमेन्टका अधिकारी घटनास्थलमा पुगी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो भने १० जनालाई घटनास्थलमा मृत भेटेको थियो’, मेयर्सले भने । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

शंकास्पद आक्रमणकारी घटनास्थलबाट भागेकोले प्रहरीले उसलाई पछ्याइरहेको छ ।

लस एन्जलसशहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास छ ।

मोन्टेरी पार्कमा करिब ६१ हजार मानिस बस्छन्, जसमध्ये अधिकांश एसियाली वा एसियाली मुलका अमेरिकी हुन् ।

बन्दूक हिंसासम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने एउटा वेबसाइटका अनुसार गत वर्ष ६४७ वटा सामूहिक गोलीकाण्ड भएको थियो । संयुक्त राज्य अमेरिकामा सामूहिकरूपमा हुने बन्दुक हिंसा एउटा ठूलो समस्या छ । अमेरिकी कानुनले चार वा सोभन्दा बढी व्यक्तिले गोली हानेको वा मारिएको घटनालाई सामूहिक गोलीकाण्डका रूपमा परिभाषित गरेको छ ।

अमेरिकामा सन् २०२२ मा गोली लागेर ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्यासम्बन्धी घटना थिए ।

अमेरिकामा तीन वयस्कमध्ये एकसँग कम्तीमा एउटा हतियार छ र दुई वयस्कहरूमध्ये लगभग एक जना हतियार भएको घरमा बस्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू