शुक्रबार, वैशाख १४, २०८१
10:46 | १५:३१

बेलायतमा कोरोनाबाट एक लाख २३ हजार बढीको मृत्यु  

थप ३४३ को मृत्यु

नेपाली लिङ्क मार्च २, २०२१

लन्डन ।  बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २३ हजार नाघेको छ  ।

पछिल्लो २४ घन्टामा थप ३४३ जना कोरोना संक्रमितको मृत्यु भएसंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २३ हजार २९६ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

अघिल्लो दिन आइतबार १०४ जना कोरोना संक्रमिको मृत्यु भएको थियो जुन दैनिक मृतक संख्या धेरै समयपछिको न्यून हो ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ३९१ जना नयां संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या गतवर्ष सेप्टेम्बरपछिकै कम हो ।

थपिएका नयां संक्रमितसंगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ८८ हजार ४०० पुगेको छ । पछिल्लो समयमा कोरोना संक्रमणदरमा निरन्तर ह्रास आउंदै गएको तथ्यांकले देखाएको छ ।

हाल जारी लकडाउन  र कोरोना विरुद्धको खोपलाई दिइएको तीव्रताका कारण संक्रमणमा कमी आएको सरकारले दावी गरेको छ  ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर १२ हजार ७४८ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ८०६ छ ।

दुई करोड १३ लाख भन्दा बढी खोप वितरण

बेलायतमा सोमबारसम्म दुई करोड १३ लाख भन्दा बढी कोरोना विरुद्धको खोप वितरण भइसकेको छ ।

पहिलो र दोस्रो डोजको खोप गरि दुई करोड १३ लाख २२ हजार ७१७ डोज खोप वितरण भइसकेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ४ लाख ७८ हजार ६१९ जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी ८ लाख ४४  हजार ९८ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू