बिहीबार, वैशाख १३, २०८१
14:57 | १९:४२

बेलायतमा घट्दै कोरोना संक्रमण, थप ३४५ को मृत्यु

४० वर्ष उमेरकालाई पनि खोप दिइने

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२१

लन्डन । सन् २०२१ को शुरुबाटै बेलायतमा उच्च रहेको कोरोना संक्रमणदर न्यून हुँदै गएको पछिल्लो तथ्यांकले देखाएको छ ।

यद्यपि मृत्युदर भने अझै कम नभएको बताइएको छ । शुक्रबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ३४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विज्ञहरुका अनुसार हाल जारी लकडाउन र खोप वितरणमा गरिएको तीव्रताका कारण दैनिक मृत्युदरमा कमी आएको हो । यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ४१५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ८ हजार ५२३ जना नयां संक्रमित थपिएका छन् । थपिएका नयां संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ६३ हजार ८५ पुगेको छ ।

लकडाउनका कडा प्रतिबन्धका कारण नयां संक्रमित दरमा दैनिक ६ प्रतिशतले ह्रास आएको अधिकारीहरुले बताएका छन् । हाल बेलायतको संक्रमण मापन (आर) दर 0.६ देखि 0.९ को बीचमा छ ।

इंग्ल्याण्डको राष्ट्रिय तथ्यांकको कार्यालय (ओएनएस) को तथ्यांकले  कोरोना भाइरस संक्रमण निरन्तर घट्दै गएको देखाएको हो । हालको संक्रमण दर गत वर्ष अक्टुबरमा जस्तै समान छ ।

अस्पतालमा संक्रमितको चाप अझै उच्च रहेपनि यो संख्या निरन्तर ओराको लाग्दै गएको छ । संक्रमण नियन्त्रण गर्न अझै पनि निरन्तर सावधानी अपनाउन अनुरोध गरिएको छ ।

बेलायतका अस्पतालमा उपचार गरिरहेका कोरोना संक्रमितको संख्या पनि निरन्तर घट्दै गइरहेको छ । अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर १५ हजार ४८५ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या दुई हजार ४७ छ ।

एक करोड ९१ लाख बढीले लगाए खोप

बेलायतमा हालसम्म झन्डै दुई करोड डोज भ्याक्सिन वितरण भैसकेको छ । शुक्रबार खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या एक करोड ९९ लाख नाघेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा एक करोड ९१ लाख ७७  हजार ५५५  जनाले पहिलो डोज लिएका छन् । यसैगरी ७ लाख ३६ हजार ३७  जनाले खोपको दोस्रो डोज लिएका छन् ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले खोपलाई थप प्रभावकारी बनाउन चाडै ४० वर्ष उमेर पुगेकालाई खोप वितरण गरिने बताएको छ ।

सरकारले दोश्रो चरणअन्तर्गत जुलाइ अन्तिमसम्म क्रमसः ४०-४९ वर्ष, ३०-३९ वर्ष र १८– २९ वर्ष उमेरका मानिसलाई खोपको प्राथमिकतामा राखेको छ । जसमध्ये पुरुष, काला, एसियन र अल्पसंख्यक जातीय समूदायका मानिसहरुलाई भने अफर आउनासाथ तत्कालै खोप लगाउन अनुरोध गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू