बुधबार, वैशाख १२, २०८१
21:44 | ०२:२९

भक्त गुरुङ नेतृत्वको संगठन नै आधिकारिक भएको दावी, भ्रममा नपर्न अपिल

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२१

लन्डन । बेलायतमा भक्त गुरुङको नेतृत्वमा पुनर्गठन गरिएको संगठन प्रवासी नेपाली एकता मञ्च यूके नै आधिकारिक संगठन भएको उक्त संगठनले दावी गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संगठनले कुनै भ्रम र गुटगत प्रभावमा नपरी मञ्चको संगठनमा आवद्ध हुन पनि सम्पूर्ण सदस्यहरूलाई अपिल गरेको छ ।

मञ्च नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नीति तथा कार्यक्रमलाई समर्थन गर्ने पार्टी सदस्य, समर्थक र शुभेच्छुकहरुको साझा संगठनको रुपमा प्रवासी नेपालीहरुको बीचमा अत्यन्त लोकप्रिय संगठन भएको र विगत लामो समयदेखि नेपालको लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय हितका साथै प्रवासी नेपालीका सरोकारका विषयहरुमा आवाज उठाउन सधैं अग्रपंक्तिमा रहेको पनि मञ्च यूकेका अध्यक्ष भक्त गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संगठनको नीति निर्देशनको आधारमा चल्ने भन्दापनि गुटीय प्रभावमा परि संगठनको हित विपरित गुटगत गतिविधिमा रमाउने, पार्टी नेतृत्व र सरकारले गरेका कामप्रति भ्रम सिर्जना गर्ने गराउने काम गरेको तथा संगठनका सम्पूर्ण सदस्यहरुलई संगठित गरी संगठन निर्माण गर्न र प्रवासी नेपालीहरुको नेपाली नागरिकता निरन्तरता, सम्पत्तिको अधिकार, पूर्व ब्रिटिस गोर्खा सैनिकका समानताको आन्दोलनप्रति ऐक्यवद्धता लगायत तमाम आर्थिक सामाजिक अधिकार स्थापित गर्न नेपाल सरकारसंग दवाव र हातेमालो गर्दै अगाडि बढ्नु पर्ने निर्णयक समयमा ठोस काम गर्न असफल भएकाले इलाका तथा केन्द्रिय कमिटी पुनर्गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गत ७ फेब्रुअरी २०२१ का दिन प्रवासी नेपाली एकता मञ्च यूकेको विशेष राष्ट्रिय भेलाले भक्त गुरुङको अध्यक्षतामा १२५ सदस्यीय राष्ट्रिय कमिटी तथा विभिन्न इलाकामा इलाका कमिटी पुनर्गठन गरेको थियो ।

‘हाम्रो संस्था कुनै राजनीतिक दलको भातृसंस्था होइन । तथापि, हामी नेपालका लोकतान्त्रिक, प्रगतिशील र देशभक्त विचारहरुलाई अंगीकार गर्ने सामाजिक तथा राजनीतिक शक्तिहरु मिलेर देशको उन्नति प्रगतिमा लागुन् भन्ने कामना गर्दछौं । हामी देशमा जकडिएर बसको अविकसित प्रणाली, पछौटेपन, सामाजिक कुरितिहरु उन्मुलन भई समृद्ध र सभ्य समाज बनुन् भन्ने चाहना राख्छौं र त्यस दिशामा अघि बढ्ने शक्तिहरुको पक्षमा उभिन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ- ‘यस अर्थमा, यो संस्थामा रहेका हामीहरुले नेपाली समाजको अमूल रुपान्तरण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने मूल मन्त्रलाई राष्ट्रिय संकल्प बनाई अघि बढेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको कदमहरुको समर्थन गरेका हौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू