शुक्रबार, वैशाख १४, २०८१
05:13 | ०९:५८

कोभिड खोप लगाउन नेपालीलाई एनएचएस इंग्ल्याण्डको अपिल (भिडियो)

नेपाली लिङ्क फ्रेब्रवरी ११, २०२१

लन्डन । बेलायतमा कोभिड खोपका विषयमा चेतना फैलाउने उद्धेश्यले यहाँको नेश्नल हेल्थ सर्भिस (एनएचएस) ले विभिन्न भाषामा खोपसम्बन्धी जनचेतनामूलक सामग्री सार्वजनिक गरेको छ ।

एनएचएस इंग्ल्याण्डले नेपालीसहित एक दर्जन बढी भाषामा आफ्ना जानकारीमूलक भिडियोहरु प्रकाशन गरेको हो ।

एनएचएस इंग्ल्याण्डकै वेबसाइटमा पोस्ट गरिएको नेपाली भाषाको भिडियो लण्डनमै कार्यरत नर्स सुमिता रेग्मीले प्रस्तुत गरेकी छन् । साउथ इष्ट लन्डनको वुल्वीचस्थित क्वीन एलिजावेथ अस्पतालकी ‘डिमेन्सिया स्पेसलिस्ट नर्स’ सुमिताले कोभिड खोप लिनका लागि भरपर्दो र सुरक्षित रहेको सन्देश दिएकी छन् ।

१३ वर्षदेखि उक्त अस्पतालमा कार्यरत सुमिताले खोपका विषयमा अनावश्यक डर र आशंका नराख्न आव्हान गरेकी छन् । आफूले पनि खोप लगाएर सुरक्षित महशुस गरेको भन्दै उनले भनेकी छन्, ‘बेलायत सरकारले अनुमोदन गरिसकेको यो खोप अति नै प्रभावकारी र सुरक्षित छ । हजारौं व्यक्तिमा परीक्षण गरेपछि मात्रै ल्याइएको हो, त्यसैले सुरक्षित छ ।’

खोप लगाइसकेपछि लगाएको ठाउँमा दुख्ने, टाउको खुख्ने, वाकवाकी लाग्ने, थकान महशुस हुने जस्ता सामान्य लक्षण देखा पर्ने तर ती एक हप्ताभित्रै आफै हराएर जाने सुमिताले जानकारी गराएकी छन् । खोपपछि कोभिडबाट गम्भीर बिरामी पर्ने सम्भावना नरहने भएपनि संक्रमणबाट बच्न आधारभूत सावधानीहरु भने अपनाउँदै जानुपर्ने उनको सुझाव छ ।

बेलायतमा कोभिड खोप लिने पालो आउने व्यक्तिहरुलाई यहाँका स्वास्थ्य निकायहरुबाट खबर आउने भएकाले त्यसअघि नै अस्पताल वा जीपी सर्जरीमा सम्पर्क राख्न आवश्यक नहुने सुमिताले स्पष्ट पारेकी छन् ।

आफ्नो पालो आएलगत्तै बिना कुनै हिच्किचाहट खोप लगाएर कोरोना महामारीबाट आफू र आफ्नो परिवार तथा समुदायलाई समेत जोगाउन उनले अपिल गरेकी छन् ।

बेलायतमा अहिले कोभिडविरुद्धको खोप वितरण तीव्र रुपमा भइरहेको छ । बुधबारसम्मको तथ्यांकअनुसार यहाँ १ करोड ३० लाख बढीले कोभिड खोपको पहिलो डोज पाइसकेका छन् ।

तर, अझै पनि कतिपय मानिसमा भने खोपप्रतिको डर, आशंका र हिच्किचाहट कायम छ । मानिसहरुमा रहेको यही आशंका र डरलाई हटाउँदै खोपमाथिको विश्वास जगाउन बेलायतको नेश्नल हेल्थ सर्भिस (एनएचएस) ले विभिन्न सूचनामूलक सामग्रीहरु प्रकाशन गर्दै आएको छ ।

हेरौं भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू