बुधबार, वैशाख १२, २०८१
15:17 | २०:०२

बेलायती वैज्ञानिकहरुको अध्ययन: संक्रमण घटाउन खोप प्रभावकारी

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२१


लन्डन । बेलायतमा निर्मित कोभिडविरुद्धको खोप कोरोना भाइरस संक्रमण घटाउनमा प्रभावकारी बनेको एक अध्ययनले देखाएको छ ।

अक्सफोर्ड र एक्सट्राजेनेकाले संयुक्त रुपमा निर्माण गरेको खोपको पहिलो डोज मात्रैबाट पनि संक्रमण न्यूनीकरणमा टेवा पुगेको पाइएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अध्ययनले बेलायतमा अहिले भइरहेको कोभिड खोप वितरणले भाइरसको संक्रमण घटाउन थालिसकेको देखाएको छ । कोभिड खोपको एक डोज लिएका मानिसहरुको स्वाब परीक्षणका क्रममा पोजिटिभ पाइने दर ६७ प्रतिशतले घटेको बताइएको छ ।

बेलायतमा कोभिड खोप लगाउने मानिसहरुको संख्या झण्डै एक करोड पुग्दा खोपले संक्रमण न्यूनीकरण गरेको तथ्य सार्वजनिक भएको हो ।

अध्ययनमा संलग्न अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार कोभिड खोपको एक मात्र डोजले पनि तीन महिनासम्मका लागि ७६ प्रतिशतसम्म सुरक्षा प्रदान गर्छ । जसले १२ हप्ताको अन्तरालमा दोस्रो डोज दिने बेलायत सरकारको नीति गलत छैन भनेर प्रमाणित गरेको छ ।

कोभिड खोप लिएका मानिसहरुलाई फेरि संक्रमण हुने वा संक्रमण निको नभएर जीवन गुमाउने खतरा घटेको मात्र नभइ उनीहरुबाट अन्य मानिसमा संक्रमण सर्ने जोखिम पनि न्यून बनेको पाइएको छ ।

अक्सफोर्डको खोप परीक्षणका ‘चीफ इन्भेस्टिगेटर’ डा. एन्ड्यू पोलार्डले भाइरस संक्रमणका सवालमा खोपले ठूलो प्रभाव पारेको बताएका छन् ।

खोपको प्रभावकारितासम्बन्धी यो अध्ययन डिसेम्बर ७ तारिखअगावै खोप लिने मानिसहरुमा गरिएको हो । त्यसैले भाइरसको नयाँ भेरियन्टको हकमा खोपको प्रभाव समान वा फरक के रहन्छ भन्ने स्पष्ट हुन अझै बाँकी छ ।

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले कोभिड खोपको प्रभावकारिताबारे भएको अध्ययनबाट देखिएको नतिजाले महामारीबाट मुक्तिको बाटो खोप नै हो भन्ने तथ्यलाई थप प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् ।

अक्सफोर्ड खोपको प्रभावकारिता बेलायतलाई महिनौंदेखिको लकडाउनबाट मुक्ति दिनका लागि आधार बन्ने आशा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनबाट बाहिरिनेसम्बन्धी सरकारको नीति यही महिनाको अन्तिम साता सार्वजनिक गर्ने अपेक्षा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू