शुक्रबार, वैशाख १४, २०८१
20:53 | ०१:३८

गोर्खाको पहलमा स्थापित गोर्खा स्मारक सार्ने काउन्सिलको तयारी

गोर्खाहरुले ८ वर्ष क्याम्पेन गरी ननिटनमा बनाएका थिए स्मारक

नेपाली लिङ्क अक्टोबर २१, २०२०

लन्डन ।  बेलायतको ननिटनस्थित गोर्खा स्मारक हाल रहेको ठाउंबाट अन्यत्र सार्ने योजना स्थानीय काउन्सिलले बनाएको छ ।  

स्मारक छेउको सडक सुधार गर्ने काउन्सिलको योजनाअन्तर्गत स्मारकलाई ‘रिलोकेट’ गर्ने तयारी गरिएको हो ।  

ननिटनको ‘रिभर सी पार्क’ मा अवस्थित स्मारक नजिकको ‘रिंग रोड’ मा ट्राफिक जामको ठूलो समस्या रहंदै आएकोमा त्यसलाई हल गर्न सडक बिस्तार गर्न लागिएको छ । सडक बिस्तारको सोही योजनाका लागि स्मारक रहेको ठाउँ पनि प्रयोग गर्नुपर्ने भएकाले वारविकशायर काउन्टी काउन्सिलले स्मारक सार्ने योजना बनाएको बताइएको छ ।  

स्थानीय पत्रपत्रिकामा स्मारक सार्ने सम्बन्धमा काउन्सिलले निर्णय नै गरेको भन्दै समाचार प्रकाशित भएपनि उक्त स्मारक स्थापनाको पहल गर्ने गोर्खा समुदायका अगुवाले भने काउन्सिलको योजना रहेपनि निर्णय भइसकेकोबारे जानकारी नआएको बताएका छन् ।  

नेपाली लिंकसंगको संवादमा ब्रिटिश गोर्खा भेटेरान एशोसिएसनका अध्यक्ष रिटायर्ड अनररी लेफ्टिनेन्ट ओमप्रकाश गुरुङ (एमबीइ) ले स्मारक सार्ने विषयमा काउन्सिलले आफूहरुसँग कुरा राखेको तर अन्तिम निर्णय भइनसकेको जानकारी दिए ।  

‘हामीले  ८ वर्षसम्म क्याम्पेन गरी ठूलो दु:खले निर्माण गरेको स्मारक हो । त्यसैले एक प्रमुख सरोकारवालाका रुपमा स्मारकबारे महत्वपूर्ण निर्णय लिंदा हामीलाई पनि जानकारी हुनुपर्छ भनेका छौं’, अध्यक्ष गुरुङले भने, ‘हाम्रो एशोसिएसनका प्रतिनिधिसँग गत मार्चमा भएको भेटमा ट्राफिक व्यवस्थापनका लागि सडक बिस्तार गर्नुपर्ने भएकाले स्मारक सार्ने योजनाबारे हामीलाई जानकारी गराएका  थिए । त्यसयता यसबारे कुनै नयाँ निर्णय भइनसकेको उनीहरुको बताएका छन् ।’

काउन्सिलले पनि स्मारक सार्ने विषयमा स्मारक निर्माणको पहल गर्ने भूपू गोर्खा संगठन ब्रिटिश गोर्खा भेटेरान एशोसिएसनका प्रतिनिधिसँग आवश्यक परामर्श लिइने बताएको थियो ।  

‘शहरको हितको लागि सडक बिस्तार गर्छौ भन्दा यही शहरवासीको नाताले हुँदैन भन्न हामीलाई पनि अफ्टेरो छ ।  तर हामीले धेरै मेहनत गराएर बनाएको स्मारक  हामीले भनेकै ठाउँमा सारिनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान छ’, अध्यक्ष गुरुङ भन्छन्   

एशोसिएसनका महासचिव रिटायर्ड क्याप्टेन भिम सारुले अहिले स्मारक रहेको ठाउंबाट ५० मिटरको दूरीमा उपयुक्त ठाउं रहेको भन्दै सोहि ठाउँमा सारिनुपर्ने प्रस्ताव काउन्सिलका अधिकारीहरुसँग राखेका छन्   

ब्रिटिश गोर्खा एशोसिएसनको अगुवाईमा स्मारक  स्थापनाको  लागि सन् २००८ मा अभियान शुरु भएपनि आवश्यक कोष जुटाएर शालिक निर्माणको काम पूरा गरी सन् २०१५ को अप्रील २४ मा अनावरण गरिएको थियो ।  

बेलायती सेनामा गोर्खाहरुको पहिलो बटालियन स्थापना भएको ठीक २ सय वर्ष पुगेको दिनमा शालिक अनावरण भएको थियो । त्यसयता हरेक वर्ष अप्रील २४ आसपासको आइतबार वार्षिकी कार्यक्रम गरिंदै आएको छ ।  त्यस्तै, हरेक वर्ष ‘रिमेम्बरेन्स् डे’ मा समेत स्मारकमा विशेष कार्यक्रम गरिंदै आएको छ ।  

स्मारकको लागि दुई चरणमा गरी ६० हजार पाउन्डभन्दा बढी रकम खर्च गरिएको एशोसिएसनका अध्यक्ष गुरुङ बताउंछन् । स्मारक सार्नुपर्ने अवस्थामा हालसम्मको खर्च काउन्सिलले व्यहोर्नुपर्ने तर थप स्तरोन्नतिका लागि आफूहरुले नै पहल गर्ने प्रस्ताव काउन्सिलसँग राखिएको उनले बताए ।  

२ सय वर्षभन्दा लामो अवधि बेलायती सेनामा रहेर गोर्खाहरुले गरेको योगदानको कदरस्वरुप सन् २०१५ मा स्मारक स्थापना गरिएको  थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू