बिहीबार, वैशाख १३, २०८१
20:04 | ००:४९

बेलायतबाट बाग्लुङ्गका ६६ विपन्न परिवारलाई खाद्यान्न सहयोग

नेपाली लिङ्क अक्टोबर १८, २०२०


लन्डन । विश्वकर्मा वेलफेयर सोसाइटी यूकेको आयोजना र नेपाली वेलफेयर सोसाइटी यूकेको संयोजन तथा समन्वयमा नेपालको बाग्लुङ्गमा राहत वितरण गरिएको छ । गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ्ग नगरपालिका १२ अमलाचौरका ६६ विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको विशेष उपस्थितिमा कोरोनाभाइरस महामारीका कारण पीडित ती विपन्न परिवारहरुलाई ३० केजी चामल, दाल, तेल, नुन र साबुन प्रदान गरिएको हो । ‘बाँचौ र बचाऔँ अभियान’ अन्तर्गत बाग्लुङ्गमा भएको राहत वितरण कार्यक्रम यूकेबाट जुममार्फत देखाइएको थियो ।

‘बाचौं र बचाऔँ अभियान’ का संयोजक, नेपाली वेलफेयर सोसाइटी यूकेका अध्यक्ष तथा एनआरएनए यूकेका कार्यसमितिका सदस्य धनबहादुर सार्कीले कोरोना महामारी शुरु भएयता बेलायतस्थित विभिन्न संघ, संस्था र मनकारी व्यक्तिहरुको प्रयोजनमा सातै प्रदेशका १७ जिल्लाका ८४८ घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको जानकारी दिए ।

उनले मन्दिरमा देउता पुजेर भन्दा दुःखी विपन्न परिवारलाई साथ दिए पुण्य कमाइने भन्दै धर्मले पनि अरुको सेवा गर्न सिकाएको बताए । ‘सेवा नै धर्म हो भन्ने मान्यता मेरो छ’, उनले भने, ‘त्यसैले हामी मातृभूमिको दुःखमा राहतको साथी बन्न चाहान्छौँ ।’ उनले मानवीयताको यस अभियान सञ्जाल अझै दरिलो बनाउने बताउँदै यस अभियानमा साथ दिन सबैमा आग्रह गरे ।

भर्चुअल जुम कार्यक्रम सञ्चालन गर्दै एनआरएनए यूकेका सचिव एवं रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी यूके उपाध्यक्ष जित रानाभाटले केहि महिनादेखि निरन्तर यस्ता भर्चुअल कार्यक्रम संचालन र आर्थिक सहयोग समेत गरेको बताउदै आगामी दिनमा समेत हरेक सामाजिक कार्यमा आफ्नो सक्दो सहयोग हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य एवं नेकपा केन्द्रिय सदस्य बलावती शर्माले मानवीय सहायताको महत्वपूर्ण कदम उठाएकोमा सोसाइटीलाई धन्यवाद दिइन् । कुनै जातजाती, वर्ग समुदायको कुरा नगरी विशुद्ध नागरिककोे सेवा गरेकामा संस्थालाई धन्यवाद दिंदै उनले यस पवित्र कार्य सबै सामू पुरयाउनु पर्नेमा जोड दिइन् ।

त्यसैगरी विशेष अतिथि बाग्लुङ्ग नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले आफ्नो मातृभूमिमा परेको पीडामा मलम लगाउने काम गरेकोमा सोसाइटी प्रति धन्यवाद दिदै आगामी दिनमा पनि देशको घाउ पुर्ने कार्यमा अग्रसर रहिरहन सुझाव दिए ।
विश्वकर्मा कल्याणकारी समाज युकेका अध्यक्ष चन्द्र बहादुर सुनार (कुमार) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य बलावती शर्माको प्रमुख आतिथ्य थियो ।

‘बाचौं र बचाऔँ’ अभियानका नेपालका कार्यक्रम संयोजक नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, बागलुङ नगरपालिका १२ का वडा अध्यक्ष गुरुदत्त पाठक, अखिल नेपाल महिला संघका केद्रीय सदस्य टिकाकुमारी बिश्वकर्मा, सयपत्री नेपाली सेवा समाज युके अध्यक्ष दिलिप महरा, नेपाल कम्युनिष्ट पार्टी प्रदेश जिल्ला कमिटी सदस्य कुसम बुढा, एनआरएन युकेका सल्लाहकार तथा विश्वकर्मा समाज भोटेओडार, लमजुङ, नेपालका संस्थापक अध्यक्ष राजकुमार सुनार, विश्वकर्मा वेलफेयर सोसाइटी युकेका पूर्वअध्यक्ष तथा शिव कलचरल एण्ड कम्युनिटी सेन्टर युके तथा क्यप्टन (क्यु.जी.ओ.) ब्रिटिश आर्मीका निवर्तमान अध्यक्ष गोपाल बिश्वकर्मा लगायतको उपस्थिति थियो ।

त्यसैगरी बिश्वकर्मा वेलफेयर सोसाइटी युकेका पूर्वध्यक्षहरु थाम विश्वकर्मा, धर्म बिश्वकर्मा, हङ्गकङ्ग माइनोरीटी नेपाली समाजका पूर्वध्यक्ष तथा बिश्वकर्मा वेलफेयर सोसाइटी युकेका सल्लाहकार अशोक कुमार गहतराज, बिश्वकर्मा वेलफेयर सोसाइटी युकेका सल्लाहकारहरु मनोज अन्जन र नगेन्द्र बिश्वकर्मा युके लगायत सहभागिता थियो । राहत वितरण कार्यक्रममा उपस्थित अतिथिहरुले जुम कन्फ्रेन्समार्फत सम्बोधन गरेका थिए ।

कार्यक्रममा स्थानीय बक्ताहरुले विषम परिस्थितिमा राहत उपलब्ध गराएर संस्थाले अतुलनीय मानवीय काम गरेको बताउँदै सहयोगी नेपाली मनहरुप्रति आभार ब्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू