बिहीबार, चैत १५, २०८०
08:57 | १४:४२

कस्ता छन् बेलायतमा दशैंका शुभ साइतहरु ?

टीकाको साइत अक्टोबर २६ बिहान ७.४५ बजे

नेपाली लिङ्क अक्टोबर १६, २०२०

लन्डन । नेपालीहरुको महान पर्व विजया दशमी शनिबार शुरु हुँदैछ । नेपालभित्र मात्र नभएर विदेशमा रहेका नेपालीहरुले पनि आ-आफ्नै हिसाबले यो पर्व मनाउने गरेका छन् ।

यसै क्रममा बेलायतमा सक्रिय ज्योतिषीहरुले बेलायतमा दशैं  मनाउनेहरुका लागि समेत विजया दशमीको टीका, घटस्थापनालगायत महत्वपूर्ण विधिहरुको शुभसाइत जुराएका छन् ।  

लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका मूलगुरु ज्योतिषी निलहरि घिमिरेका अनुसार बेलायतमा यस वर्ष विजया दशमीको शुभ साइत अक्टोबर २६ तारिख सोमबार बिहान ७.४५ मा परेको छ । उक्त समयमा टीका लगाउने व्यक्ति पश्चिम र टीका लगाइदिने व्यक्ति पूर्व फर्किनु उत्तम रहने उनी बताउंछन् । 

शुभ साइतको समयमा शुरु गरिसकेपछि बांकी दिनभर नै टीकाको लागि समय शुभ रहने ज्योतिषी घिमिरेको भनाइ छ ।  

त्यस्तै, शनिबार घटस्थापनाका लागि बेलायतमा बिहान ९ बजेर २५ मिनेट तथा साँझ ७ बजेको समय उत्तम निस्किएको छ । आफ्नो सुविधाअनुसार शुभसाइत परेको दुवै समयमध्ये कुनै एकमा घटस्थापना गरी जमरा राख्न सकिने ज्योतिषी घिमिरेले बताए ।  

टीका, घटस्थापना लगायतका शुभ कार्यका लागि सूर्योदयको आधारमा शुभ साइत जुराउने प्रचलनअनुरुप बेलायतका लागि यहाँका ज्योतिषीहरुले छुट्टै साइत जुराएका हुन् ।  

पशुपतिनाथ मन्दिरका मूलगुरु घिमिरे, ब्रिटिश आर्मी क्याम्पका पन्डित एवम् ज्योतिषी प्रेमप्रसाद गैरेसहितको समूहले बेलायतका लागि दशैं साइत जुराएको हो ।  

यसअघि नेपाल पन्चांग निर्णायक समितिले बेलायतसहितका केही मुलुकमा नेपालमा भन्दा एक दिन अघि नै टीकाको शुभ साइत परेको भनी सार्वजनिक गरेकोमा यहाँ क्रियाशिल लगभग सबै ज्योतिषीहरुले विरोध जनाएका थिए । 

उनीहरुले नेपालमा जुन दिन टीका लगाइन्छ, बेलायतमा पनि सोही दिन टीका लगाउनुपर्ने भन्दै यहाँको भूगोल र सूर्योदयलाई आधार मानेर छुट्टै साइत जुराएका हुन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू