बिहीबार, वैशाख १३, २०८१
17:57 | २२:४२

बेलायतको पिसिआर रिपोर्टले नेपाल उड्न हुँदै आएको समस्या अन्त्य

नेपाल उड्न अब कुनै समस्या नहुने लन्डनस्थित नेपाली दूतावासको भनाइ

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२०

लन्डन । बेलायतबाट नेपाल जाने यात्रुहरुले केही सातादेखि पिसिआर रिपोर्टका कारण व्यहोर्दै आएको सास्ती अब हट्ने भएको छ ।  

बेलायतको नेश्नल हेल्थ सर्भिस् (एनएचएस) बाट प्राप्त पिसिआर रिपोर्ट देखाएर नेपाल उड्न अब कुनै समस्या नहुने लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।  

प्रवक्ता रोशन खनालले नेपाली लिंकलाई बताएअनुसार अब कतार र टर्किस एयरवेजले बेलायतको पिसिआर रिपोर्ट हुने यात्रुहरु नेपाल उडाउन तयार भएका छन् ।  

यसअघि बेलायतमा लिइएको पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको मापदन्डअनुरुप नभएको भन्दै उनीहरुले यात्रुहरु नेपाल लैजान अस्वीकार गर्दै आएका थिए । जसका कारण दर्जनौ यात्रु विमानस्थलबाटै फर्काइएका थिए । कि नेपालमा पहुंच हुनेले मन्त्रीलाई भनसुन गर्न लगाउनु पर्दथ्यो ।   

दूतावासकी प्रवक्ता खनालका अनुसार समस्या सम्बोधनका लागि दूतावासले नेपाल पररास्ट्रमार्फत ‘कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) र दुबै एयरवेजलाई पत्राचार गरेको थियो ।

नेपाल सरकारले पठाएको ढाँचामा स्याम्पल सोर्समा नाक र घाँटीबाट स्वाब लिएको हुनुपर्ने, समय, मिति (रियल टाइम पीसीआर) उल्लेख र रिजल्ट नेगेटिभ हुनुपर्ने रहेकोले सोही अनुसार हुनुपर्ने एयरलाइन्सको माग थियो । 

तर, बेलायतको एनएचएस रिपोर्टमा भने नाम, जन्ममिति र रिजल्ट उल्लेख गरिएको हुन्छ अनि त्यो इमेल वा मोबाइल म्यासेजमा आउँछ ।

यसैबीच लण्डनस्थित नेपाली दूताबासले बुधवार एक सूचना जारी गर्दै संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबाट नेपाल जाने सम्पूर्ण नेपाली तथा गैर आवासीय नेपालीहरुले यात्रा गर्दा अनिवार्य रुपमा ७२ घन्टाभित्रको पीसीआर रिपोर्ट लिई यात्रा गर्नुपर्ने, गैर आवासीय नेपालीहरुले नेपाल जानूपूर्व राजदूतावासबाट अनिवार्य रुपमा भिसा तथा सिफारिस पत्र लिएर मात्र यात्रा गर्न पाइने र नेपाल जाने हवाई टिकट र पीसीआर रिपोर्ट प्राप्त भैसकेपछि उडानको ४८ घण्टाभित्र कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को वेबसाइट www.ccmc.gov.np को अनलाइन फारम भरी त्यसको ‘सिस्टम जेनेरेटेड बार कोड’ को स्क्रिनशट वा प्रिन्ट गरि १ प्रति साथमा लैजान सूचित गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू