मंगलबार, वैशाख ४, २०८१
17:48 | २२:३३

राजदूत डा. सुवेदीलाई ब्रेकनमा विशेष सम्मान

राजदूतबाट पनि 'टोकन अफ लभ'

नेपाली लिङ्क सेप्टेम्बर ५, २०२०


लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई वेल्सको ब्रेकनमा विशेष सम्मान गरिएको छ । ब्रेकन टाउन काउन्सिल र ब्रेकन धम्पुस ट्वीनिङ एसोसिएसन यूकेले शुक्रबार विशेष सम्मान गरेका हुन् ।

ब्रेकन टाउन काउन्सिलका मेयर काउन्सिलर क्रिस वेल्स र ब्रेकन धम्पुस ट्वीनिङ एसोसिएसन यूकेका अध्यक्ष काउन्सिलर डेभिड मेरिडिथले ब्रेकन धम्पुस भगिनी सम्बन्ध स्थापनामा प्रमुख भूमिका निर्वाह गरेका राजदूत डा. सुवेदीप्रति कृतज्ञता व्यक्त गर्दै सम्मान गरेका थिए ।

गत वर्ष संयुक्त अधिराज्यको वेल्स र नेपालको धम्पुसबीच पहिलोपटक ऐतिहासिक भगिनी सम्बन्ध स्थापना भएको थियो । राजदूत सुवेदीले पनि मेयरलाई ‘टोकन अफ लभ’ स्वरुप खुकुरी प्रदान गरे ।

आफ्नो चार वर्षे कार्यकालको अन्त्यतिर आइपुगेका राजदूत सुवेदीले ब्रेकनमा कयौं पटक पुगेर त्यहांको नेपाली र बेलायती समुदाय एवं दुई देशबीच सम्बन्ध प्रगाढ बनाउन पहल गरेका थिए । ‘ब्रेकन टाउन फ्रिडम परेड’ र ‘हाइक फर नेपाल’ जस्ता महत्वपूर्ण कार्यक्रममा राजदूतको सहभागितालाई उच्च महत्व दिइएको थियो ।

ब्रेकन गिल्डहलमा आयोजित उक्त समारोहमा राजदूत दम्पतिसहित दूतावास परिवारलाई रात्रीभोज समेत प्रवन्ध गरिएको थियो ।

उक्त अवसरमा दूतावासका द्वितिय सचिव तेजेन्द्र रेग्मी दम्पति, ब्रेकन पूर्व मेयरहरु, उपमेयर, काउन्सिलर, ब्रेकन वेल्स नेपाली समाजका पदाधिकारी लगायतको उपस्थिति थियो ।

राजदूत डा. सुवेदीले वेल्स भ्रमणका क्रममा ब्रेकनस्थित गोर्खा कम्पनी इन्फेन्ट्री ब्याटल स्कुलको समेत भ्रमण गर्ने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू