बुधबार, वैशाख १२, २०८१
03:15 | ०८:००

भारतीय अतिक्रमणको विरोधमा उत्रिए पोर्चुगलका नेपाली

राजकुमार थापा मे २५, २०२०

पोर्चुगल । भारतले कालापानी क्षेत्रमा नेपाली भूभाग अतिक्रमण गरेकोमा पोर्चुगलस्थित नेपाली संघसंस्थाले विरोध जनाएका छन् ।

दुई दर्जन बढी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेको संयुक्त विरोधपत्र सोमबार लिस्बनस्थित भारतीय दूतावासमार्फत प्रधानमन्त्री  नरेन्द्र मोदीलाई पठाइएको छ ।

हुलाकमार्फत विरोधपत्र पठाउनुअघि लिस्बनको अलमेदा पार्कमा भेला भएका संघसंस्थाका प्रतिनिधिहरुले नेपालको राष्ट्रिय झण्डा, प्लेकार्ड, नेपाल सरकारले हालै जारी नेपालको राजनैतिक र प्रशासनिक नयाँ नक्सासहित प्रदर्शन र कोणसभा गरेका थिए ।  

विरोधपत्रमा गैरआवासीय नेपाली संघ, प्रवासी नेपाली एकता मंच, नेपाली जनसम्पर्क समिति, नेपाली समाज, जनप्रगतिशील मोर्चा, नेपाल आदिवासी जनजाति महासंघ, महिला समाज, नारी समाज, चितवन समाज लगायत पोर्चुगलमा क्रियाशिल  २५ नेपाली संघसंस्थाका प्रतिनिधिको हस्ताक्षर छ । 

विरोधपत्र पठाएपछि एनआरएनएनए पोर्चुगल अध्यक्ष तिलक गैरेले भने, ‘नेपालको सीमा रक्षाका खातिर प्रवासमा रहेका सम्पूर्ण नेपालीको पूर्ण ऐक्यवद्धता छ । राजनैतिक, कूटनैतिक सबै माध्यमबाट वार्ता गरेर भारतद्वारा अतिक्रमित नेपालको भूभाग फिर्ता ल्याउनुपर्छ । पोर्चुगलमा रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरु नेपाल सरकारको साथमा छौं ।’

 लिस्बनमै मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगलको अगुवाइमा नेपाली युवाहरुले पनि  नेपालको राष्ट्रिय झण्डा फहराउँदै भारतीय अतिक्रमणप्रति कडा विरोध जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू