शुक्रबार, वैशाख १४, २०८१
21:42 | ०२:२७

पञ्चासे हर्पनडाँडा समाज यूकेबाट नेपालमा राहत वितरण

नेपाली लिङ्क मे २२, २०२०

लण्डन । कोरोना महामारीका कारण आर्थिक समस्यामा परेका विपन्न परिवारलाई ‘पञ्चासे हर्पनडाँडा समाज यूके’ ले राहत वितरण गरेको छ । कास्कीको पोखरा महानगरपालिका २३ स्थित दमदमे, सिधाने, कुद्बीडाँडा र मकानपुर क्षेत्रमा बसोबास गर्ने ७९ परिवारलाई खाद्यान्नसहित राहत सामग्री वितरण गरिएको हो ।

प्रति परिवार २५ केजी चामल, २ लिटर तेल, २ केजी दाल, २ केजी चिउरा, नुन, चिनी, चियापत्ती, साबुन लगायतका सामग्री राहत स्वरुप वितरण गरिएको समाजले बताएको छ । पोखरा महानगर २३ का वडा सदस्यद्वय दुर्गाबहादुर घले र भरत भण्डारीको रोहबरमा तीन स्थानमा छुट्टाछुट्टै कार्यक्रम गरेर राहत वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा एनआरएनए यूकेका सल्लाहकार समेत रहेका पञ्चासे हर्पनडाँडा समाज यूकेका महासचिव प्रकाश गुरुङले आफ्नो जन्म स्थानको सम्झना र आफन्तहरुको मायाका कारण कठिन परिस्थितिमा पनि बेलायतमा सहयोग जुटाएर राहत सामग्री वितरण गरिएको बताए ।

समाजले यसअघि पनि एम्बुलेन्स, भुकम्प तथा बाढीपहिरो पीडितको उपचारमा करिब ३० लाख बराबरको सहयोग गरेको र भविष्यमा पनि गर्दै जाने उनले बताए । महासचिव गुरुङपत्नी संगिना गुरुङ र समाजका सदस्यहरु धर्मावती गुरुङ र मनदेवी गुरुङ समेत राहत वितरणमा सहभागी भएका थिए ।

त्यस अवसरमा अग्रज पत्रकार गंगाधर पराजुलीले यूकेमा बस्नेहरुले आफ्नो गाउँलाई सम्झेर सहयोग गरेकोमा सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

राहत वितरणका अवसरमा स्थानीय समाजसेवीहरु पदमबहादुर गुरुङ, गुमानसिंह गुरुङ, शिक्षासेवी मीनबहादुर गुरुङ, सामाजिक कार्यकर्ता सविन गुरुङ, लक्ष्मी गुरुङ लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

पोखराबाट ४ वटा गाडीमा खाद्यान्न लिएर गााउँमै पुगेर वितरण गरेपछि स्थानीय सर्वसाधारण पनि निकै खुशी भएका थिए । उनीहरुले आफ्नो समस्या बुझेर सहयोग गर्न आएको भन्दै खुशी प्रकट गरेका थिए ।

फेवातालको मुहान मानिने उक्त क्षेत्र पोखराको मुख्य बजारबाट करिब ३० किलोमीटर पश्चिममा पर्छ । कास्की, स्याङजा र पर्वतको सिमानामा पर्ने पञ्चासे डांडा नजिक रहेकोले त्यस क्षेत्रलाई पञ्चासे क्षेत्रको रुपमा समेत चिनिन्छ ।

विगतमा गुरुङ बस्तीको रुपमा रहेपनि पछिल्लो समय त्यस क्षेत्रका अधिकांश गुरुङहरु वैदेशिक रोजगारीको शिलशिलामा विदेश जाने र बजार क्षेत्रमा बसाईं सर्ने क्रम तिव्र भएपछि हाल त्यस क्षेत्रमा दलित समुदाय र विपन्न वर्गका धेरै परिवार छन् । पोखराबाट टाढा पर्ने भएकोले त्यस क्षेत्रमा सहयोगी संस्थाहरुको पहुँच कम छ ।

यहि सन्दर्भलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा राहत बाँडिएको पञ्चासे हर्पनडाँडा समाज यूकेले बताएको छ । दमदमे, सिधाने, कुद्बीडाँडा र मकानपुरसहितका क्षेत्रबाट बेलायत आएर विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुले सन् २०१२ मा पञ्चासे हर्पनडाँडा समाज यूके स्थापना गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू