शुक्रबार, चैत १६, २०८०
20:36 | ०२:२१

स्वाद र गन्ध थाहा नहुनुलाई पनि बेलायतमा कोरोनाका लक्षण मानिने

नेपाली लिङ्क मे १९, २०२०

लन्डन । विश्वभर कोभिड १९ को महामारी निरन्तर फैलिरहँदा यसका लक्षणहरु पनि परिवर्तन हुंदै गएका स्वास्थ्यविदहरुले बताउँदै आएका छन् ।

बेलायतमा कोरोनाको लक्षणको नयाँ सूचीमा ‘स्वाद थाहा नपाउनु’ र ‘गन्धको महशुस गर्न नसक्नुलाई’ पनि समावेश गरिएको बीबीसीले उल्लेख गरेको छ ।

कान, नाक तथा घांटी रोग विशेषज्ञहरुले यी दुई विषयलाई कोरोनाको नयाँ लक्षणमा सूचीकृत गर्न गत महिनादेखि सरकारलाई सल्लाह दिंदै आएका थिए । बेलायतका एकजना उच्च वैज्ञानिक सल्लाहकारले चेतावनी दिंदै भनेका थिए, ‘बेलायतको कोरोना लक्षणको आधिकारिक सूची अपूरो छ, यसलाई तुरुन्त बिस्तार गर्नुपर्छ ।’

प्राथमिक हेरचाह परीक्षण विशेषज्ञ तथा कोरोना महामारीसम्बन्धी सरकारी सल्लाहकार समेत रहेका डा. निक समरटनले उक्त सूची कोरोना संक्रमण रोक्न पछि पर्न सक्ने बताएका थिए ।

हाल बेलायतमा उच्च ज्वरो आएमा, लगातार खोकी लागेमा र आफूसंग भएको लक्षणसंग सामना गर्न नसकेको खण्डमा मात्र मानिसहरुलाई १११ मा फोन गर्न भनिएको छ ।

यदि कसैलाई लगातार खोकी, ज्वरो, गन्ध वा स्वाद थाहा नपाउने समस्या (एनोस्मिया) भएमा कोरोना संक्रमण फैलिन नदिन सात दिनसम्म घरमै बस्न सल्लाह दिइएको छ । तर सात दिनपछि पनि निरन्तर खोकी र गन्ध वा स्वाद थाहा नपाउने समस्या रहेमा सेल्फ आइसोलेसनमा बस्न आवश्यक नरहने बताइएको छ ।

श्वासप्रश्वाससमबन्धी यस्ता किसिमको समस्या सामान्य चिसोको कारणले पनि हुन सक्ने तर ज्वरो र खोकीलाई भने कोरोना भाइरसको महत्वपूर्ण लक्षणको रुपमा लिनुपर्ने सल्लाह विज्ञहरुले दिएका छन् ।

किंग्स कलेजद्वारा ‘एप्स’को माध्यमबाट करिब पन्ध्र लाख मानिसमा गरिएको परीक्षणबाट यस्ता लक्षणहरु कोरोना भाइरसको हुनसक्ने बताइएको छ । थकान महशुस हुने, पेट दुख्ने तथा पखालालाई पनि कोरोना भाइरसको लक्षणमा समावेश गरिनुपर्ने बताइएको छ ।

केहि समय अगाडि अमेरिकास्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले कोरोना संक्रमणका थप नयां लक्षणहरुमा ‘स्वाद थाहा नपाउनु र गन्दको महशुस गर्न नसक्नुलाई’ समावेश गरिसकेको छ ।

अन्य केहि मुलुकहरुमा पनि यस्ता लक्षणहरुलाई कोरोनाको भाइरसको लक्षणको रुपमा सूचीकृत गरिसकिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू