शुक्रबार, चैत १६, २०८०
06:40 | १२:२५

बेलायतमा रोकिएका नेपालीको तथ्यांक संकलनसंगै नेपाल फर्काउने पहल

नेपाली लिङ्क मे १७, २०२०

एनआरएनए यूके उपाध्यक्ष रामचन्द्र पोखरेल

लण्डन । कोरोना महामारीका कारण लागू गरिएको लकडाउनले अहिले धेरै नेपालीहरु संसारका विभिन्न मुलुकमा अलपत्र अवस्थामा छन् । बेलायतमा पनि यस्ता सयौं नेपाली छन् जो लकडाउनका कारण नेपाल फर्किन नपाएर अड्किएका छन् ।

यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लकडाउनका कारण नेपाल जान नपाएर बेलायतमै रोकिएका ती नेपालीहरुको नामावली संकलन गर्ने एक अभियान शुरु गरेको छ । नेपाली दूतावास र नेपाल सरकार समेतको समन्वयमा उनीहरुलाई यथासक्य चाँडो नेपाल फिर्ता गर्नको लागि पहल समेत गर्ने भनिएको छ ।

सोहि अभियानको संयोजन गरिरहेका एनआरएनए यूके उपाध्यक्ष रामचन्द्र पोखरेलसंग नेपाली लिंकले गरेको संवाद ।

के हो तपाईंहरुले शुरु गर्नुभएको अभियान ?

कोरोना भाईरस (कोभिड १९) महामारीको यस विषम परिस्थितिले सिर्जना गरेको असहजताले हाम्रा कैयौं नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु आफ्नो परिवार तथा आफन्तहरुसँग पुनर्मिलन हुन वा आफ्नो मातृभूमि फर्किनबाट बन्चित हुनु परेको छ ।

बेलायत भ्रमणमा आएर भिसा सकिएर कहिले नेपाल फर्किन पाइन्छ भनेर बस्नुभएका कैंयौं नेपाली हुनुहुन्छ । विविध समस्या झेलेर यता बस्नुभन्दा आफ्नो घर फर्कन चाहने विद्यार्थीहरु हुनुहुन्छ । अन्य विभिन्न परिस्थितिले बेलायत आएर नेपाल फर्कनबाट बन्चित हुनु भएकाहरु एवम् बेलायतमै बसोबास गर्ने नेपाली जसलाई केहि महत्वपूर्ण कामले नेपाल जानुपर्ने भएपनि हालको यस परिस्थितिले बेसहारा जस्तै बन्न बाध्य बनाएको छ ।

त्यसैले, यस अभियानको मूल उद्धेश्य भनेको बेलायतमा भ्रमण गर्न आउनुभएका नेपाली, कुनै सेमिनार, गोष्ठी, तालिम वा अन्य कामले बेलायत आउनु भएका नेपालीहरु, विद्यार्थीहरु र बेलायतमा बसोबास गर्ने गैरआवासीय नेपालीहरु नेपाल जान अत्यावश्यक परेको तर कोरोना भाईरस (कोभिड १९) महामारीका कारण नेपाल जानबाट बन्चित हुनुभएको भए उहाँहरुको नामावली संकलन गरी नेपाल सरकार एवम् अन्य सरोकारवालाहरुसंग समन्वय गरी नेपाल जान सहजीकरण गर्ने भन्ने हो ।

यो अभियानले कसरी काम गर्छ ?

यस अभियानमा सर्वप्रथम नामावली संकलन गरिनेछ । जसका लागि हामीले अनलाइन फारम पनि वितरण गरिसकेका छौं । हामीले नामावली आव्हान गरेको केहि दिनभित्रै पनि करिब डेढ सय नेपालीले आफू नेपाल जान जरुरी रहेको भन्दै फारम भरिसक्नुभएको छ । सबैको नामावली संकलन भइसकेपछि नेपाली दूतावास लन्डनमार्फत र एनआरएनएको आफ्नै प्रत्यक्ष पहलमा नेपाल सरकारलाई एनआरएनए यूकेसँग संकलन भएको नेपाल जान अत्यावश्यक भएका नेपालीहरुको विवरण उपलब्ध गराउनेछौं । हामीले नेपाल सरकारलाई बेलायतमा रोकिएका नेपालीको स्थितिको जानकारी गराउनका साथ उहाँहरुको उद्धारका लागि समेत सक्दो पहल गर्नेछौं । उहाँहरुको स्वदेश फिर्तीमा सहजिकरणका लागि हामीले सरोकारवाला अन्य पक्षसंग पनि समन्वय गर्नेछौं ।

सबै अन्तर्राष्ट्रिय उडानहरु रोक लगाएको नेपाल सरकारले बेलायतका नेपाली फर्काउन सहयोग गर्छ त ?

हामीलाई लाग्छ, नेपाल सरकार पनि विदेशमा अलपत्र आफ्ना नागरिक घर फर्काउन चाहन्छ । अहिले परिस्थिति नै यस्तो प्रतिकुल बनेको छ कि विदेशबाट जाने नेपालीहरुबाटै ठूलो जोखिमको अवस्था छ । तर, हामीले बेलायतबाट जाने सबैको स्वास्थ्य परीक्षण गराएर आवश्यक सतर्कता अपनाएरै पठाउन चाहन्छौं । बेलायतबाट नेपाल जानेहरुले संक्रमण भित्र्याउने छैनन् भन्ने ग्यारेन्टी गर्न सक्यौं भने सरकार ‘कन्भिन्स’ हुनेछ भन्ने हामीलाई आशा छ ।

त्यस्तै, नेपाल पुगिसकेपछि नेपाल सरकारको नीतिअनुसार क्वारेन्टाइनको व्यवस्था गर्न समेत सकिन्छ । जसले गर्दा उनीहरुबाट संक्रमण फैलिने जोखिम टार्न सकिन्छ ।

आवश्यकताअनुसार स्वास्थ्य परीक्षण र अरु सावधानीको प्रबन्ध गर्न गैरआवासीय नेपाली संघ बेलायतका स्वास्थ्य विभाग एवं कोभिड १९ सहयोग अभियानका संयोजक डा सुनिल शाह र एनआरएनए यूकेसँग आबद्ध मेडिकल टिम पनि हामीसंग छ । उहाँहरुकै सल्लाह र सुझाव अनुसार हामी अगाडि बढ्नेछौं ।

बेलायतमा रोकिनेहरु कहिलेसम्ममा नेपाल उड्न पाउलान्  त ?

यो सबै बेलायत सरकार र विशेषगरी नेपाल सरकारको नीतिमा भर पर्ने कुरा हो । हाम्रो पहल भने यथासक्य चाँडो उद्धार गर्नुपर्छ भन्ने हो । हामी त चाहन्छौं, लकडाउनकै बीचमा पनि आवश्यक सतर्कतासहित बेलायतमा रोकिएका हाम्रा दिदीबहिनी, दाजुभाईलाई नेपाल फर्काउन सकियोस् । यदि त्यसो हुन नसकेमा पनि, कमसेकम लकडाउन अलिकति खुकुलो र हवाई मार्ग सुचारु हुने बित्तिकै एनआरएनए यूकेसँग नामावली टिपाउनुभएका यात्रुहरु उड्नुपर्छ भन्ने हाम्रो मान्यता हो । एनआरएनए यूकेको तर्फबाट यस कार्यको लागि हामी सक्दो पहल गर्नेछौं ।

त्यो अवस्थामा नेपाल फर्किने टिकटको खर्च कसले व्यहोर्छ ?

एनआरएनए यूकेले गर्ने भनेको संयोजन र समन्वयको काम हो । हामीले सहयोगको आवश्यकतामा रहने नेपालीहरुको जानकारी नेपाल सरकारसम्म लैजाने काम गर्नेछौं । साथमा, उनीहरुको फिर्तीको लागि पहल त रहन्छ नै । यदि हामीले चाहेअनुसार यहाँ रोकिएका नेपालीलाई नेपाल फर्काउने व्यवस्था गर्न सक्यौं भने टिकट खर्च यात्रु स्वयम्ले व्यहोर्नुपर्ने हुन्छ । एक सामाजिक संस्थाका रुपमा हामीसंग यो सबै खर्च व्यहोर्न पर्याप्त कोष हुने कुरा भएन ।

नेपालीहरु नेपाल फर्काउन नेपाल सरकारलाई नै गुहार्ने भनेको होइन र ?

हो । तर अहिलेको यस विषम परिस्थितिमा नेपाल फर्काउन व्यवस्थापन गर्न सकियो भने त्यो नै महत्वपुर्ण हो । नेपाल सरकार आफैं विश्वभरका नेपालीहरुको दबाबसहित आर्थिक भारमा परिरहेको अवस्थामा यात्रुलाई निशुल्क उद्धार गर्न सफल भयो भने सुनमा सुगन्ध भयो नै । तर टिकट बुकिङ खर्च यात्रुले व्यहोर्नु परेपनि ठिकै छ । उद्धारको लागि पहल गरिदिनपर्यो भन्ने हाम्रो चाहना हो ।

क-कसलाई प्राथमिकतामा राखिएको छ?

हामीसंग विवरण संकलन हुनेमध्ये सबैभन्दा बढी जरुरी देखिनेहरु प्राथमितामा पर्नुहुनेछ । त्यसैले , हामीले फारममा पनि तपाईंलाई नेपाल गइहाल्नपर्ने अत्यावश्यक कारण पनि खुलाउन आग्रह गरेका छौं । सबैको फामरम जम्मा भइसकेपछि तुलनात्मक रुपमा बढी जरुरी ठानिनेहरु स्वतः प्राथमिकतामा पर्नुहुनेछ । जस्तै, बेलायत भ्रमणमा आउनुभएका, सेमिनार, तालिम, गोष्ठी वा अन्य छोटो समयको लागि आउनु भएका, विद्यार्थीहरु एवम् अन्य गैरआवासीय नेपालीहरुलाई क्रमशः प्राथमिकतामा राखिनेछ ।

एनआरएनए यूकेलाई कसरी आफ्नो विवरण टिपाउन सकिन्छ ?

तपाईंले फारम नभरेसम्म तपाईंको नाम रजिस्टर नहुने हुँदा ढिला नगरिकन यो लिंकमा क्लिक गरेर फारम भर्नुहोस् । त्यो तथ्यांकको आधारमा बाँकी कार्य अघि बढाउन एनआरएनए यूकेलाई सहज हुनेछ ।

यससम्बन्धी अपडेटका लागि म सबैलाई एनआरएनए यूकेको वेबसाईट हेर्दै गर्नुहुन आग्रह गर्दछु । साथै, टेलिफोन 07411357621 र इमेल [email protected] मार्फत पनि प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू