शुक्रबार, वैशाख १४, २०८१
09:26 | १४:११

एनआरएनए युरोपको कोरोना राहत कोषमा ३० लाख संकलन

नेपाली लिङ्क मे १०, २०२०


लण्डन । कोरोना भाइरस महामारीबाट प्रभावित नेपालीको सहयोगार्थ युरोपमा ३० लाख रुपैयाँको कोष संकलन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘कोभिड १९ युरोप क्षेत्रीय समिति’ को सक्रियतामा दुई साताभित्रै सो रकम संकलन भएको समितिका सदस्यसचिव एवम् आइसिसी सदस्य रामशरण सिम्खडाले जानकारी दिए ।

आइतबार साँझसम्म २४ हजार ५ सय ६१ अमेरिकी डलर संघको खातामा जम्मा भएको सिम्खडाले बताए । ‘यो शुरुआत हो भर्खर काम शुरु गरेका छौं, सहयोग आउने क्रम जारी नै छ । संघको केन्द्रीय निर्देशन अनुरुप आर्थिक संकलनको काम अघि बढेको छ’ सिम्खडाले भने ।

संघको युरोपेली कोषमा अष्ट्रिया, बेल्जियम, स्वीडरल्याण्ड, डेनमार्क, जर्मनी, स्पेन, फिनल्याण्ड, आयरल्याण्ड, लग्जम्वर्ग, रसिया, माल्टा, र नेदरल्याण्डमा रहेका संघका पदाधिकारी तथा राष्ट्रिय समितिले सहयोग गरेका हुन् ।

यसैबीच, कोरोना प्रभावित युरोप क्षेत्रका एनसीसीहरुलाई २० हजार डलर आर्थिक सहयोग गरेको छ । कोरोनाले प्रभावित ५ युरोपेली मुलुकस्थित गैर आवासीय नेपालीहरुलाई लक्षित गर्दै संघले सहयोग घोषणा गरेको संघका युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सेनाले जानकारी दिए ।

संघले स्पेन र पोर्चुगललाई पाँचपाँच हजार डलर, ईटालीलाई ४ हजार डलर तथा साईप्रस र माल्टाका लागि तीन/तीन हजार डलर छुट्टाएको छ ।

पहिलो चरणमा साईप्रसलाई र दोस्रो चरणमा बाँकी चार वटा एनसीसीलाई सहयोग घोषणा गरिएको हो ।

यसअघि संघले केन्द्रीय अध्यक्ष कुमार पन्तको अध्यक्षतामा ‘कोभिड १९ उच्चस्तरीय समिति’ गठन गरेर कोरोनाविरुद्ध विश्वव्यापी राहत संकलन तथा वितरणको अभियान शुरु गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू