शनिबार, वैशाख ८, २०८१
11:33 | १६:१८

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने ३३ विद्यार्थी पक्राउ

रासस मे ९, २०२०

तस्विर स्रोत: अन्नपुर्ण पोष्ट

काठमाडौँ । नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा यहाँस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

‘लकडाउन’ उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले बताए ।

विद्यार्थीहरु राष्ट्रिय झण्डासहित ‘प्लेकार्ड’ बोकेर दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थीले यसरी प्रदर्शन गरेको जनाइएको छ । सोही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत पक्राउ परेका हुन् ।

नेपालको भूगोलमा रहेका लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने ‘सडक ट्र्याक’ को शुक्रबार उद्घाटन गरेको समाचार भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले ‘ट्वीट’ मार्फत सार्वजनिक गरेको जनाइएको छ ।

यसबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष माग गरिएको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू