शुक्रबार, चैत १६, २०८०
21:15 | ०३:००

सामाजिक दूरी तोडेर प्रेमिका भेट्ने बेलायत सरकारका सल्लाहकारको राजीनामा

नेपाली लिङ्क मे ६, २०२०

लन्डन । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न लागू गरिएको ‘सामाजिक दूरी’ को नियम  पालन नगर्दा बेलायत सरकारका एक प्रमुख सल्लाहकारले राजीनामा दिनुपरेको छ ।

बेलायतमा ‘लकडाउन’ को शिफारिस गर्नेमध्येकै एक प्राध्यापक निल फर्गसनले आफूबाट सामाजिक दूरीको नियम उल्लंघन भएको स्वीकार्दै पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । 

उनले आफ्नो प्रेमिकालाई ‘लकडाउन’ कै बीच आफ्नो घरमा आउन दिएको भन्दै मिडियामा आलोचना भएपछि गल्ती स्वीकार गर्दै उनले राजीनामा दिएका हुन् ।

गत मार्च २३ बाट जारी  ‘लकडाउन’ को घोषणा उनकै सल्लाह अनुसार प्रधानमन्त्री बोरिस जोन्सनले लागू गरेका थिए । प्राध्यापक फर्गसन ‘सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालिसिस’ का निर्देशक हुन् । 

उक्त संस्थाले कोरोना संक्रमणको बारेमा गत वर्षको जनवरीमा नै संसारलाई खतराको संकेत दिएको थियो ।

बेलैमा सावधानी नअपनाए बेलायतमा पाँचलाख भन्दा बढीको निधन हुनसक्ने प्राध्यापक फर्गसनको टोलीले बताएको थियो । 

सामाजिक दूरी तोडेकै  कारण गत ६ अप्रिलका दिन स्कटल्याण्डकी ‘चीफ मेडिकल अफिसर’ डा क्याथरिन केलरवुडले पनि राजीनामा दिएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू