शुक्रबार, चैत १६, २०८०
06:47 | १२:३२

कोरोनाले गोर्खालाई पारेका समस्याप्रति बेलायत गम्भीर, सहयोगको आश्वासन

नेपाली लिङ्क मे ५, २०२०

बेलायतको रक्षा मन्त्रालयले कोरोना भाइरसको महामारीका कारण बेलायतमा रहेका गोर्खाहरुलाई परेका समस्याहरुप्रति आफू गम्भीर रहेको जनाएको छ ।

लण्डन । बेलायत सरकारले कोरोना भाइरस महामारीका कारण बेलायतमा रहेका गोर्खाहरुलाई परेका समस्याहरुप्रति आफू गम्भीर रहेको जनाएको छ ।

समस्यामा परेका गोर्खाहरुलाई सहयोगको व्यवस्था गर्न आग्रह गर्दै लण्डनस्थित नेपाली दूतावासले पठाएको पत्रको जवाफमा बेलायतले गोर्खाका समस्यालाई समाधान गर्न आवश्यक सहयोगको आश्वासन समेत दिएको छ ।

लण्डनस्थित नेपाली दूतावासका अनुसार गत अप्रिल २७ मा दूतावासले पठाएको पत्रको जवाफ मंगलबार बिहान बेलायतको रक्षा मन्त्रालयले फर्काएको थियो । उक्त पत्रमा बेलायत सरकारले ‘भूतपूर्व गोर्खा र उनीहरुका परिवारका समस्यालाई गम्भीरतापूर्वक लिंदै पूर्ण जिम्मेवारीका साथ समाधान गर्ने’ बताएको छ ।

उनीहरुको लागि ‘गोर्खा वेल्फेयर ट्रस्ट’ लगायतका निकायहरुबाट आवश्यक सहयोग उपलब्ध गराइरहेको जानकारी गराउँदै पत्रमा आवश्यकताअनुसार थप सहयोग उपलब्ध गराइने उल्लेख छ । बेलायत सरकारले ‘गोर्खा वेल्फेयर ट्रस्ट’ मार्फत हरेक साता गोर्खाका समस्याहरुसम्बन्धी ५ सय ‘केस’ डिल गरिरहेको जानकारी समेत गराएको छ ।

पत्रमा बेलायत सरकारले गोर्खाहरुको सवालमा लण्डनस्थित नेपाली दूतावाससंग समेत समन्वयमा काम गर्ने बताउँदै कुनै समस्याहरु भए जानकारी गराउन आग्रह गरेको छ । साथै, कुनै पनि सूचना, परामर्श वा सहयोगको आवश्यकता पर्ने गोर्खा र उनीहरुका परिवारलाई ‘गोर्खा वेल्फेयर ट्रस्ट’ मा सम्पर्क राख्न आव्हान गरिएको छ ।

‘महामारीका बेला बेलायतको गोर्खा समुदायले सामना गरेका समस्याहरुबारे दूतावासले पत्राचार गर्दै बेलायत सरकारको ध्यानाकर्षण गराएको थियो’, दूतावासका प्रवक्ता शरदराज आरनले भने, ‘गोर्खाका समस्याप्रति बेलायत सरकार पनि सचेत र गम्भीर छ । ‘गोर्खा वेल्फेयर ट्रस्ट’ बाट उनीहरुका लागि आवश्यक सबै सहयोग उपलब्ध गराइरहेको जानकारी गराएको छ ।’

‘गोर्खा वेल्फेयर ट्रस्ट’ ले गोर्खाहरुका लागि आवश्यक सूचना, परामर्शका साथै आर्थिक ‘प्याकेज’ हरुबारे समेत जानकारी उपलब्ध गराइरहेको छ । कुनै पनि सहयोग आवश्यक पर्ने गोर्खा र उनीहरुका परिवारको लागि नेपाली भाषामै समेत हेल्पलाइन उपलब्ध गराइएको छ ।

गोर्खा वेल्फेयर ट्रस्टको सम्पर्क:

Gurkha Welfare Advice Centres

Email at: [email protected]

Telephone : 

Aldershot : 07882 731986 / 07886 3978890,

Salisbury : 07425629041 / 07425 629037

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू