बिहीबार, चैत १५, २०८०
16:14 | २१:५९

‘कोभिड’को उपचारपछि घर फर्किए चार सङक्रमित

सिबी अधिकारी-सञ्चिता घिमिरे/रासस अप्रिल १९, २०२०

शनिबार अस्पतालबाट घर फर्किदै बाग्लुङकी कोरोना संक्रमित महिला

काठमाडौँ । ‘कोभिड-१९’ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार ‘कोभिड-१९’ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ्य भएर घर फर्किएको जनाइएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सेती अस्पतालमा उपचाररत २१ वर्षीय पुरुष पनि कोभिडको उपचारपछि घर फर्किएको बताए । ती सङ्क्रमितको पनि ‘पिसिआर’ विधिबाट परीक्षण गर्दा नतिजा ‘नेगेटिभ’ आएपछि अस्पतालबाट घर पठाइएको हो ।

शनिबार साँझ धौलागिरि अस्पताल बाग्लुङमा उपचाररत कोभिड सङ्क्रमित ६५ वर्षीया महिलालाई घर पठाइएको थियो । शनिबारै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी ‘कोभिड’ सङ्क्रमित १९ वर्षीया युवती प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी थिइन् ।

नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसकेका छन् । ‘कोभिड-१९’ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा उहाँमा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’ को घोषणा गरेको थियो ।

पछिल्लो पटक गत वैशाख २ को मन्त्रिपरिषद्ले आगामी १५ गतेसम्म ‘लकडाउन’ लाई निरन्तरताको निर्णय गरेको थियो । सरकारले काठमाडौँ उपत्यकासहित देशैभर ‘लकडाउन’ कडाइ गरेको छ ।

अहिलेसम्म तेस्रोपटक ‘लकडाउन’ थप गरिसकेको छ । सरकारले यही वैशाख १८ सम्म सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको छ । पछिल्लो विवरणअनुसार कोभिड– १९ का सङ्क्रमित कूल ३१ जनामध्ये चार फर्किएका हुन् ।

अन्य २७ जना विभिन्न अस्पतालको ‘आइसोलेशन’मा उपचार भइरहेको छ । उनीहरुमध्ये टेकु अस्पतालमा एक, पाटन अस्पतालमा दुई, बाग्लुङ अस्पतालमा एक, धनगढी अस्पतालमा एक, वीरगञ्जमा चार र विराटनगरमा १३ जना छन् । काठमाडौँ बाहिरका अस्पतालमा पनि उपचार भइरहेकाले ‘कोभिड’ उपचारमा सहजता भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू