धादिङ बस दुर्घटनामा ब्रिटिश नागरिकसहित १९ जनाले ज्यान गुमाए



काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस सोमबार बिहान १.३० बजे त्रिशुलीमा खस्दा १९ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन्।
धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–५, भैसीगौंडास्थित पृथ्वी लोकमार्गमा अनियन्त्रित भइ बस सडकबाट करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खस्दा बसमा सवार ४४ यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।
गृह प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार, घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत स्थानीय बासिन्दाहरूको समन्वयमा उद्धार कार्य तत्परताका साथ अगाडि बढाइएको थियो।
दुर्घटनामा ज्यान गुमाउने मृतकहरूको शव नदीबाट निकालि सनाखत गरिएको, घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको र प्रभावकारी उपचारका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
उता, गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा गृह सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर संघ लगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बैठक बसी दुर्घटनाको सम्बन्धमा छलफल गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ (पाँच) सदस्यीय कार्यदल गठन गरिएको छ ।
धादिङका डिएसपी प्रकाश दाहालले दिएको जानकारी अनुसार, तनहुँका ६३ वर्षीय रूद्रप्रसाद ढकाल, २० वर्षीया अर्चना पौडेल, कास्कीकी २१ वर्षीया अञ्जली क्षेत्री, २१ वर्षीय रोहित नेपाली, स्याङ्जाका ४५ वर्षीय घनश्याम सुवेदी, काठमाडौंकी ३३ वर्षीया अनिशा महर्जन, मोरङकी २७ वर्षीया हिरा चौधरी, कास्कीका २६ वर्षीय सुजित नेपाली, भारतका ३२ वर्षीय मनिष शुक्ला, चीनकी ४० वर्षीया झाड्ड चुनचन, पोखराका ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंका ४२ वर्षीय लोप्साङ गोले, तनहुँका ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाका ५५ वर्षीय नवीन्द्र श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा एक जना २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको पनि निधन भएको छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


