शनिबार, वैशाख १५, २०८१
11:48 | १६:३३

नेपाल र चीन मिलेर समृद्धिको यात्रामा हातेमालो गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ

रासस मार्च २७, २०२४

छोनछिन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्त्वपूर्ण हुने बताएका छन् ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उनले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग बुधबार भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘चीन नेपालमा वैदेशिक लगानी गर्ने पहिलो र वैदेशिक व्यापारमा दोस्रो ठुलो मुलुक हो, आर्थिक सहयोग, लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन तथा व्यापारलाई साथसाथै अघि बढाउनुपर्छ ।’

आगामी महिना नेपालमा लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले चिनियाँ लगानीकर्तालाई लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीन लामो समयदेखि असल सम्बन्ध भएका मुलुक भएको उल्लेख गर्दै दुई देशबिचको सम्बन्ध पञ्चशिलको सिद्धान्तमा आधारित रहेको बताए ।

उनले दुई देशबिचको सम्बन्ध समस्यारहित रहेको समेत उल्लेख गरे । द्विपक्षीय सम्बन्धलाई उचाइमा लैजान तथा सहयोगात्मक सम्बन्धलाई अघि बढाउन उच्चस्तरको भ्रमणले इटा थपेको उनले उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले बेल्ट एण्ड रोड इनिसाइटिभ (बिआरआइ) कार्यान्वयन कार्ययोजनामा हस्ताक्षर गर्ने अन्तिम चरणमा रहेको उल्लेख गर्दै मानवता, भ्रातृत्व र विकास साझेदारीको पहलकदमीका रूपमा बिआरआइलाई लिएको बताए ।

एक चीन सिद्धान्तप्रति नेपालको अटल प्रतिबद्धता रहेको उल्लेख गर्दै उनले तिब्बत र ताइवान चीनको अभिन्न अङ्ग भएको बताए । नेपाल र नेपाली भूमि भएर चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपालले जहिले पनि चीनसँगको मैत्रीपूर्ण सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

भेटवार्तामा छोनछिन पार्टी सचिव युयानले छोनछिन–काठमाडौँ सातामा दुई हवाई उडान हुने गरेको उल्लेख गर्दै छोनछिन र नेपालबिच सम्पर्क सञ्जाल अभिवृद्धि गर्न तयार रहेको बताए । उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने विश्वास दिलाए ।

गुणस्तरीय आर्थिक विकासमार्फत सामाजिक विकासका समस्या समाधान गर्न सकिने उल्लेख गर्दै उनले विकासका लागि साझेदार गर्न छोनछिन इच्छुक रहेको बताए ।

पार्टी सचिव युयानले कृषि, शिक्षा, प्रविधि, पूर्वाधारलगायत क्षेत्रमा सहकार्य गर्न सकिने बताए । छोनछिनमा १७ नेपाली विद्यार्थी अध्यान गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा थप छात्रवृत्ति उपलब्ध गराइने उल्लेख गरे ।

नेपालमा चिनियाँ नागरिकलाई भ्रमण गर्न प्रोत्साहित गर्ने उल्लेख गर्दै उनले छोनछिन सहर र नेपालको भरतपुर महानगरसँग भगिनी सम्बन्ध राख्न चाहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि छोनछिन सहरको भ्रमण गर्नुभएको स्मरण गर्दै उनले उच्चस्तरमा हुने भ्रमणले दुई मुलुकबिचको सम्बन्ध प्रगाढ हुने बताए ।

छोनछिन स्टेट गेस्ट हाउसमा भएको उक्त भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो ।

सो क्रममा उनीहरूबीच चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीचको सम्बन्धलाई प्रगाढ बनाउने बारेमा छलफल भएको थियो । छोनछिन चीनको पश्चिम भागमा पर्छ । छोनछिन चीनकै धेरै जनसङ्ख्या भएको ठूलो सहर हो । यहाँको जनसङ्ख्या तीन करोडभन्दा बढी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू