शुक्रबार, वैशाख २१, २०८१
15:45 | २०:३०

भूकम्पपीडितलाई बुद्ध फाउन्डेसनको तीन लाख सहयोग, हेल्प नेपालमार्फत् बाँडिने

नेपाली लिङ्क डिसेम्बर ३१, २०२३

लन्डन।बुद्ध फाउन्डेसन यूकेले रुकुम र जाजरकोटका भूकम्पपीडितको लागि करिब १८ सय पाउन्ड (झन्डै तीन लाख रुपैंया) सहयोग जुटाएको छ।

फाउन्डेसनद्वारा बेलायतमा संकलित १ हजार ७ सय ७५ पाउन्ड ९९ पेन्स हेल्प नेपाल नेटवर्कको माध्यमबाट भूकम्प प्रभावितहरुलाई वितरण गरिने भएको छ।

शनिबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमबीच सहयोग चेक फाउन्डेसनले हेल्प नेपाललाई हस्तान्तरण गरेको छ। फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठले हेल्प नेपाल नेटवर्क यूके अध्यक्ष सचिन श्रेष्ठलाई चेक हस्तान्तरण गरे।

सो अवसरमा प्रमुख अतिथि ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटले नेपालको विकट क्षेत्रमा विपत परेको बेला बुद्ध फाउन्डेसन र हेल्प नेपाल नेटवर्कको सहकार्यमा सहयोग हुन लागेकोमा खुशी व्यक्त गरे। उनले दुवै संस्थाको परोपकारी पहलको प्रशंसा गर्दै यसबाट पीडितहरुलाई राहत मिल्ने अपेक्षा राखेको बताए।

हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले संकलित रकम वितरणका लागि हेल्प नेपाललाई जिम्मा दिएकोमा फाउन्डेसनलाई धन्यवाद दिए। भूकम्पपछि नेटवर्कले राहत र सहयोगका थुप्रै अभियान सञ्चालन गरेको जानकारी दिंदै उनले फाउन्डेसनको सहयोग सहि ठाउँमा सदुपयोग हुने गरी चांडै वितरण गर्ने प्रतिवद्धता जनाए।

हेल्प नेपाल नेटवर्क यूकेका ट्रस्टी प्रसिद्ध प्रधानले फाउन्डेसनबाट प्राप्त सहयोगलाई कुनै पनि खर्च नकटाएर पूरै रकम पीडितसम्म पुर्‍याइने जानकारी दिए।

फाउन्डेसन अध्यक्ष श्रेष्ठले भूकम्पपीडितहरुको लागि सक्दो सहयोग जुटाउने फाउन्डेसनको अभियानमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे।सहयोग वितरणको जिम्मा लिने हेल्प नेपाललाई धन्यवाद दिंदै उनले समयमै भूकम्प प्रभावितहरुसम्म सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सहयोग अभियानमा महत्वपूर्ण भूमिका खेल्ने सचिव सुरेन रुपाखेती र माइकल पंगेनीलाई उनले विशेष धन्यवाद दिए।

त्यसअवसरमा फाउन्डेसनका सल्लाहकार एवम् बेक्सली नेपाली सोसाइटी अध्यक्ष डा हरिश ज्ञवाली, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, आरजीएनएस अध्यक्ष पूण्य रेग्मी, पासा पुच: साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठ, इनास यूके निवर्तमान अध्यक्ष विनोद चिपालुलगायतले शुभकामना मन्तव्य राख्दै भूकम्पपीडितका लागि सहयोग जुटाउने फाउन्डेसनको पहलको प्रशंसा गरेका थिए।

अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम फाउन्डेसन उपाध्यक्ष अर्जुन कटुवालले सञ्चालन गरेका थिए। सो अवसरमा धनराज मल्ल, मीन पुनसहित फाउन्डेसनका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति थियो।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू