शनिबार, साउन १२, २०८१
03:07 | ०७:५२

गृहमन्त्रीले प्रहरीलाई आक्षेप लगाउंदा बेलायती राजनीतिमा तरंग

नेपाली लिङ्क नोभेम्बर १०, २०२३

फाइल तस्विर- बेलायती गृहमन्त्री सुएला ब्रेभरम्यान।

लन्डन- बेलायत सरकारकी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रहरीका सम्बन्धमा व्यक्त गरेको एक धारणाले यहाँको राजनीतिलाई तरंगित पारिदिएको छ।

बेलायत प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै गृहमन्त्रीद्वारा लिखित लेख ‘द टाइम्स’ अखबारमा प्रकाशित भएपछि सत्तारुढ दल र सरकारमै समेत ठूलो हलचल आएको छ ।  

मन्त्री ब्रेभरम्यानले आफ्नो लेखमा बेलायती प्रहरीलाई पक्षपाती रहेको आरोप लगाएकी थिइन्।

इजरायल-प्यालेस्टाइन द्वन्द्वपछि हालै बेलायतमा भएका प्रदर्शनहरुमा पनि प्रहरीले दोहोरो चरित्र देखाएको आरोप उनको छ। दक्षिणपन्थी प्रदर्शनकारीहरूलाई तत्काल बल प्रयोग गर्ने प्रहरीले प्यालेस्टाइन समर्थक भीडहरूलाई भने वेवास्ता गर्ने गरेको दावी उनले गरेकी थिइन्।

विभागीय मन्त्रीले प्रहरीजस्तो संवेदनशील निकायमाथि सार्वजनिक मिडियामा गएर आरोपमा उत्रिएको भन्दै अहिले मन्त्री ब्रेभरम्यानको चर्को आलोचना भएको छ। उनको आलोचना गर्नेमा विपक्षी दलहरुदेखि उनकै दलका कयौं सांसद र नेतासमेत छन्। कतिपयले त उनलाई मन्त्रीबाट पदमुक्त गरिनुपर्ने आवाज पनि उठाएका छन् ।  

प्रधानमन्त्री ॠषि सुनाकका सल्लाहकारहरुले भने गृहमन्त्रीको व्यक्तिगत धारणामा प्रधानमन्त्रीले अपनत्व नलिने स्पष्ट गरेका छन्। तर, उनलाई पदमुक्त भने गरिहाल्ने कुनै संकेत प्रधानमन्त्रीले दिएका छैनन्।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू