शनिबार, साउन १२, २०८१
07:12 | ११:५७

लन्डनमा नेपालको उच्चस्तरीय लगानी सम्मेलन

नेपाली लिङ्क नोभेम्बर १, २०२३

लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले यहां एक उच्चस्तरीय लगानी सम्मेलन गरेको छ ।

नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा बुधबार सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन भएको हो ।

उक्त सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोत आवश्यक रहेको बताए । उनले त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताए ।

नेपाल सरकारले लगानी मैत्री वातावरणका लागि आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य शुरु गरेको समेत महतले जनाए । उनले अन्तर्राष्ट्रिय वित्त बजारबाट पूंजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिंदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री डा. प्रकाशशरण महत

सम्मेलनमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लन्डनबाट लगानीका दीर्घकालीन वित्तीय श्रोतहरुमार्फत् बेलायतबाट नवीकरणीय उर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्रयाउन चाहेको बताए ।

नेपालले विद्युत व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेश समेत निर्यात गर्न तयारी गरेको बताउँदै आचार्यले नेपालको जलविद्युतबाट नेपाल मात्र नभई दक्षिण एशियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय श्रोत तथा जोखिम वहन गर्ने वीमा कम्पनीहरु रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताए ।

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत् नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बेलायती संसदमा बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाल–बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताए ।

यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिए ।

विशेष गरी नेपालको नवीकरणीय उर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्रयाउने बारेमा केन्द्रित उक्त सम्मेलनमा नवीकरणीय उर्जा तथा सूचना प्रविधिसम्बन्धी विषयमा उक्त क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छुट्टाछुट्टै प्यानलमा छलफल भएको थियो भने शिक्षा क्षेत्रमा नेपालमा रहेका अवसरबारे ब्रिटिश कलेजका अध्यक्ष राजन कँडेलले प्रस्तुति दिएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांस फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्न नेपाल राष्ट्र बैंक प्रतिवद्ध रहेको लगानीकर्तालाई आश्वासन दिए।

लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानीका लागि नेपालको बिभिन्न क्षेत्रमा रहेका अवसरहरुको बारेमा प्रस्तुति दिंदै वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड प्रतिवद्ध रहेको बताए ।

त्यसैगरी उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको उर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत परियोजनाहरु, भारत तथा चीनसंग विद्युत विकास तथा खरिदका लागि भएका सम्झौताहरु एवं जलविद्युत् विकासका लागि नेपाल सरकारको आगामी योजनाको बारेमा उल्लेख गर्दै यसका लागि ठूलो पूंजी आवश्यक रहेकाले लगानीकर्ताका लागि यस क्षेत्रमा ठूलो अवसर रहेको बताए।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण भएको हुँदा वैदेशिक लगानीकर्ताहरुलाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रका तर्फबाट आग्रह गरे ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय उर्जाको क्षेत्रमा लगानीका अवसरका बारेमा जानकारी दिंदै नेपाल सरकारको भूमिका सकारात्मक रहेकाले वैदेशिक लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गरे ।

ब्रिटिश इण्टरनेशनल इन्भेष्टमेण्टका प्रवन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टीम गोचरले नेपालमा आफूहरुले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको औंल्याए ।

सम्मेलनमा नेपालमा लगानी गरिरहेका विकास वित्तीय संस्थाहरुको तर्फबाट इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले विकास वित्तीय संस्थाहरुको लगानीका बारेमा प्रस्तुति दिएका थिए ।

साथै उक्त अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय तथा नेपालमा लगानी गरिरहेका ६ वटा विकास वित्तीय संस्थाहरु– ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्याण्ड, बायो, बेल्जियम, फिनफण्ड, फिनल्याण्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम, स्वीजरल्याण्डबीच नेपालमा विकास वित्तीय संस्थाहरुको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

यसै सिलसिलामा अर्थमन्त्री महतको हिन्दुजा ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष जी पी हिन्दुजासँग नेपालमा लगानी भित्रयाउने विषयमा कुराकानी भएको दूतावासले जनाएको छ ।

मंगलबार नै अर्थमन्त्री डा. महतले बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री सम्माननीय आन मारी ट्रेवल्यानसँग भेट गरे । भेटका अवसरमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका विभिन्न विषय साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्रयाउनका लागि परराष्ट्र मन्त्रालयको सहयोगका लागि आग्रह गरे।

कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण बृद्धि भएकाले लगाानीयोग्य पूंजीमा कमी भएकाले नेपालमा वाह्य लगानीको आवश्यकता रहेको बताउदै मन्त्री महतले ग्लास्गोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित उर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफूले लिएको उल्लेख गरे । उनले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि समेत आग्रह गरे ।

जलवायु परिवर्तनका असरहरु सिर्जना हुनुमा नेपालको भूमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत मन्त्री महतले आग्रह गरे । उनले भूतपूर्व गोर्खाहरुको बाँकी माग को सम्बोधन गर्न परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानलाई आग्रह गरे ।

परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले बेलायतबाट नेपालका प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा आफू सकारात्मक रहेको पनि बताए ।

उक्त सममेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ताहरु, वीमा कम्पनीहरु, बेलायत लगायत यूरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधिहरु, व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरुलगायत गरी करिव सय जनाको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू