शनिबार, वैशाख ८, २०८१
00:55 | ०५:४०

बेलायती राजाले ऐतिहासिक 
राज्याभिषेक समारोहबीच पहिरिए राजमुकुट

नेपाली लिङ्क मे ६, २०२३

तस्बिर रोयटर्स

लन्डन । बेलायतका राजा चार्ल्स तृतीयलाई मध्य लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबीमा आयोजित एक विशेष समारोहमा राजमुकुट पहिरयाइएको छ।

स्थानीय समय अनुसार दिउसो १२ बजेर तीन मिनेट जाँदा इसाई धार्मिक परम्परामा आधारित एउटा सौम्य, सांगीतिक समारोहमा आर्चबीसप अफ क्यान्टरबरीले राजा चार्ल्सको शीरमा ‘सेन्ट एडवर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरयाइ दिएका थिए।

२.२३ किलो तौलको सुन र हिरा जवाहरात जडित उक्त श्रीपेच राजाहरुले राज्याभिषेकका बेला मात्रै पहिरन्छन् ।

’हामी यहाँ एकजना राजालाई राजमुकुट लगाइ दिन उपस्थित भएका छौं र राजाले सेवा गरुन् भनेर उनलाई राजमुकुट पहिरयाउन लागिएको हो,’ आर्चबिशप अफ क्यान्टरबरीले भने । उनले ’गड सेभ द किङ्ग’ भने पछि उपस्थित पाहुनाहरुले पनि उक्त भनाइ दोहोरयाएका थिए ।

सन् १९५३ मा महारानी एलिजावेथ द्वितीयाको राज्याभिषेक यहीं भएको थियो । बेलायतमा विगत ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ। उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुन् ।

तस्विर एपी

७० वर्षपछि भएको उक्त राज्याभिषेक समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षसहित विश्वभरबाट झन्डै दुई हजार विशिष्ट पाहुना सहभागी भएका थिए ।

परराष्ट्र मन्त्री एनपी साउदले नेपालको प्रतिनिधित्व गरेका थिए । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने तयारी भएपनि उनको स्वास्थ्य अवस्थाका कारण परराष्ट्रमन्त्री आएका हुन् ।

समारोहमा बेलायती प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, सेलिब्रेटी, च्यारिटी तथा स्वयंसेवक कार्यकर्ता लगायत सहभागी थिए ।

बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजावेथ द्वितीयाको गत वर्ष सेप्टेम्बरमा निधन भएपछि उनका जेठा छोरा युवराज चार्ल्सले ७३ वर्षको उमेरमा गद्दी आरोहण गरेका थिए।

चार्ल्स् संसारमै सबैभन्दा बढी उमेरका राजा हुन्।

तस्विर एपी

झन्डै २ घण्टा चलेको समारोहमा हिन्दु, मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरूले पनि राजाको सुस्वास्थ्य र दीर्घायूको कामना गरेका थिए।

ब्रिटेनको इतिहासकै पहिलो हिन्दु प्रधानमन्त्री ऋषि सुनकले बाइबलको एक अंश वाचन गरेका थिए।

बेलायती प्रधानमन्त्री सुनकले यसअघि ट्वीटमार्फत राज्याभिषेकलाई अभूतपूर्व राष्ट्रिय गौरवको क्षण भएको उल्लेख गर्दै ट्वीट गरेका थिए, ‘कुनै अर्को देशले यस्तो चमकदार प्रस्तुति गर्न सक्दैन। तर यो प्रदर्शनी मात्र होइन। यो हाम्रो इतिहास, संस्कृति र परम्पराको गौरवपूर्ण अभिव्यक्ति हो ।’

समारोहमा राजा चार्ल्स तृतीयकी पत्नी क्यामिलालाई पनि रानीको रुपमा मुकुट पहिरयाइएको थियो। त्यसपछि विशेष बग्गीमा चढेर राजा रानी बकिङ्घम राजदरबार फर्किएका थिए।

गोर्खा सैनिकहरु पनि उक्त विशेष समारोहमा सहभागी भए ।

उक्त समारोह टेलिभिजनमार्फत संसारभरिका करोडौं मानिसले प्रत्यक्ष हेरेको अनुमान छ । बकिंगहम राजदरबारबाट राजारानी बग्गीमा जांदा आउंदा सडक किनारमा सर्वसाधारण हजारौंले जयजकार गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू