शनिबार, वैशाख ८, २०८१
21:36 | ०२:२१

विश्वकपमा पोर्चुगल, दक्षिण कोरिया, जापान र स्पेन नकआउट चरणमा

रासस डिसेम्बर ३, २०२२

स्पेनसंगको खेलमा दोश्रो गोल गरेपछि जापानका खेलाडी प्रफुल्लित हुंदै । तस्बिर सिन्हवा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह एचको खेलमा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।

कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको समूह चरणको निर्णायक खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस खेलसँगै पोर्चुगल समुह विजेता र दक्षिण कोरिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरे ।

खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै खेलको २७औं मिनेटमा कोरियाका किम योङ जीओनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफसम्म एक–एक गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा कोरियाले एक गोल थप्दै दक्षिण कोरियाको जीत सुनिश्चित गरयो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा ह्वाङ हिचेनले गोल गरेपछि कोरियाले पोर्चुगलमाथि २–१ को जित निकाल्यो ।

यसैबीच आजै भएको समूह एचको अर्को खेलमा उरुग्वे घानालाई २–० गोलअन्तरले विजयी भएको छ । घानाले खेलको १७औं मिनेटमा पेनाल्टीमार्फत् अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी उरुग्वेका गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको माध्यमबाट पेनाल्टी पाएको थियो ।

त्यस्तै उरुग्वेले खेलको २६औं मिनेटमा अग्रता लियो । नजिअर्जिअन डे अरासेटाले गोल गर्दै उरुग्वेलाई पहिलो अग्रता दिलाएपछि खेलको ३२औँ मिनेटमा अरासेटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरे । खेलमा लुइस सुआरेजले दिएको पासलाई सदुपयोग गर्दै अरासेटाले गोल गरे ।

यससँगै समूह एचबाट घाना र उरुग्वे प्रतियोगिताबाट बाहिरिएका छन् । त्यस्तै यस नतिजासँगै पोर्चुगलले तीन खेलमा ६ अंक जोड्दै समूहको पहिलो स्थानमा रह्यो भने समान तीन खेल नै खेलेको दक्षिण कोरिया र उरुग्वेले ४–४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे ।

दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया अन्तिम १६ मा पुगेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घानाले ३ अंक जोड्दै चौथो स्थानमा रहयो ।

जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अंकका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अंक हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।

समूह चरणको अन्तिम खेलमा ४–२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो ।

स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अंकका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो ।

जापन र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको तीन मिनेटपछि अर्र्थात् खेलको ५१औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २–१ को अग्रता लियो । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो ।

सोही समूहको आजै भएको अर्को खेलमा जर्मनी ४–२ गोल अन्तरले कोस्टारिकालाई पराजित गर्न सफल भयो । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए ।

खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए । जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३–२ को अग्रता दिलाए । साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू