मंगलबार, वैशाख ४, २०८१
18:52 | २३:३७

बेलायतका पत्रकारहरुले शुरु गरे मतदान

नेपाली लिङ्क जुन ७, २०२१

लन्डन । आउँदो जुन १३ मा चयन हुने नेपाल पत्रकार महासंघ यूकेको पाँचौँ कार्यसमितिका लागि पत्रकारहरुले मतदान शुरु गरेका छन् ।

कोरोना महामारीका कारण वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पोस्टल भोटलाई प्राथमिकता दिने निर्वाचन समितिको निर्णय अनुसार करिब ९० प्रतिशतले पोस्टल भोटमार्फत मतदान शुरु गरिसकेका छन् ।

निर्वाचन समितिले पोस्टल र प्रत्यक्ष दुवै प्रक्रियाद्वारा निर्वाचन गर्न पाउने व्यवस्था गरेपनि पोस्टल भोटमा नै बढी आकर्षण देखिएको छ । निर्वाचन समितिले गत बिहीबार नै पोस्टल भोटका लागि ‘ब्यालेट पेपर’ घर-घर पठाइसकेको छ ।

सोमबार बिहानसम्म १२ वटा मतपत्र निर्वाचन कार्यालयसम्म पुगेको प्रमुख निर्वाचन आयुक्त रमेश सराङकोटीले जानकारी दिए  । आइतबार विदाको दिन परेकाले मंगलबारसम्म ७५ प्रतिशत भन्दा बढी मतपत्र आइसक्ने सराङकोटीले अनुमान छ ।

शाखामा हाल ४३ जना सदस्य रहेका छन् जसमध्ये ३८ जनाले पोस्टल मार्फत निर्वाचनमा सहभागी जनाइसकेका छन् । प्राय सबै पदहरुमा निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा भने निर्वाचन हुने भएको छ ।

वरिष्ठ उपाध्यक्षद्वय ध्रुवराज अर्याल र श्याम लुइंटेलबीच प्रतिस्पर्धा हुँदैछ ।

यसैगरी उपाध्यक्ष दिनेश कुमार परियार र  महासचिव संजयभक्त कंडेलबीच वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुँदैछ । उपमहासचिव नरेन्द्रकुमार बस्नेत (नरेन्द्र बस्नेत) र सचिव जगन्नाथ कार्की भने महासचिवका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

यही जुन १३ मा हुने शाखाको अधिवेशनले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष (१ महिला), १ महासचिव, २ सचिव, १ कोषाध्यक्ष, १ सह-कोषाध्यक्ष र ६ सदस्य गरी १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । 

नयाँ कार्यसमिति चयनका लागि रमेश सराङकोटीको संयोजकत्वमा नवीन पोखरेल, चिरन शर्मा, केशव भण्डारी र स‌ङ्गीता मरहट्ठा रहेको निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको कानूनी सल्लाहकारमा सोलिसिटर दीपक भट्टराई छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू