शनिबार, वैशाख १५, २०८१
21:16 | ०२:०१

लन्डनका सफल व्यवसायी रविजंग लामिछानेलाई सुप्रवल जनसेवाश्री

नेपाली लिङ्क अप्रिल १५, २०२१


लन्डन । लन्डनका सफल युवा व्यवसायी रविजंग लामिछानेले सुप्रवल जनसेवाश्री (तृतीय) मानपदवीबाट विभूषित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विभूषण सुशोभन समारोहमा लामिछानेलाई उक्त मानपदवी प्रदान गरेकी हुन् । उनको मानपदवी क्रमसंख्या १४ थियो ।

आफूले मातृभूमिप्रति गरेको निस्वार्थ सामाजिक र परोपकारी कार्यले उक्त विशिष्ट पदवी पाएको जनाउंदै लामिछानेले गर्व महशुस भएको बताएका छन् । ‘मेरो कल्पनाभन्दा बाहिरको यस मानपदवीले भविष्यमा थप उर्जाशील भएर सामाजिक काम गर्न प्रेरित गरेको छ’, उनले नेपालीलिंकसंग भने, ‘म यस सुखद अवसरमा नेपाल र समस्त नेपालीप्रति कृतज्ञता व्यक्त गर्दछु ।’

आमाका साथमा लामिछाने

उनले सम्मान ग्रहण गरिरहंदा आफ्नो स्वर्गीय बुबा चन्द्रजंग लामिछाने र लन्डनका व्यवसायी बेदनाथ पहाडी 
(जसले आफूलाई मार्गदर्शन गरेका थिए) लाई विशेष रुपमा सम्झिए । लामिछानेको व्यवसाय सफल हुनुमा उनीहरुकै योगदान विशेष थियो ।

पर्वत तिलाहार गाविसका स्थायी बासिन्दा लामिछानेले गरेका सामाजिक कार्यहरुको फेहरिस्त लामो छ । नेपालमा विपत्तिका बेला सहयोग गर्न लामिछाने सधैं अग्रसर रहे । केही महिनाअघि सरकारको कोरोना कोषमा १५ लाख रुपैयां दिएका लामिछानेले पर्वत र म्याग्दीका दुई विद्यालय एवं पर्वतको एक स्वास्थ्य चौकीलाई कुल १० हजार मास्क र स्यानिटाइजरसहित स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।

उनले महाभूकम्प पीडितको सहयोगका लागि नेपाल प्रहरी, नेपाली सेना तथा आफ्नो परिवारमार्फत ६ करोड बराबरको राहत सामाग्री वितरण गरेका थिए । साथै प्रधानमन्त्री कोषमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालामार्फत ५१ लाख १७ हजार ७२७ रुपैयां नगद जम्मा गरेका थिए ।

आध्यात्मिक चिन्तन भएका उनले काठमाडौं, पर्वत लगायत ठाउंमा झण्डै एक दर्जन मन्दिर बनाइदिएका छन् । तीनवटा मन्दिर निर्माणाधिन छन् ।

आफ्ना पूजनीय बुवा चन्द्रजंग लामिछानेको स्मृतिमा धुम्बाराही काठमाडौंमा श्री चन्द्रेश्वर महादेव मन्दिर तथा २ तल्ले रुक्विणा भजन कीर्तन मण्डल १ करोड ७० लाख खर्चेर बनाए । मन्दिर सञ्चालनका लागि अक्षय कोष व्यवस्था पनि गरिदिएका छन् उनले ।

आफ्नो बुवाकै स्मृतिमा श्री मौलाकालीका मन्दिर गैडाकोट नवलपरासीमा श्रद्धालु भक्तजनहरुका लागि भान्छाघर र खानेपानी ट्यांकी तथा धारा निर्माण गर्न २० लाख रुपैयां सहयोग गरे भने उक्त मन्दिरको विकासका अगुवा नवलपरासीवासी ज्ञानेन्द्रविक्रम महतको सुझाव अनुसार स्वागतद्वार निर्माण तथा अन्य मन्दिर विकास कार्यमा आर्थिक सहयोग गरे ।

रबिचन्द्र ट्रष्ट नेपालका संस्थापक अध्यक्ष लामिछानेले 
ट्रष्टमार्फत ४० जना अनाथ जेहेन्दार बालबालिकालाई नेपालका विभिन्न जिल्ला पर्वत, दाङ, गोरखाको बोर्डिङ स्कुलमा पढाइरहेका छन् । उनले विद्यार्थी संख्या एक सय पुरयाउने लक्ष्य समेत राखेका छन् ।

उनले बुवाको स्मृतिमा पर्वत तिलाहर गाविसमा निर्मित प्रेमेश्वर शिवालय मन्दिर तथा सत्तल जिर्णोद्धारका लागि ५ लाख खर्च गरेका थिए ।

लामिछानेले जन प्रकाश निमावि ठाना पर्वत जिल्लामा स्वर्गीय दाजु भरतजंग लामिछानेको स्मृतिमा अक्षय कोष स्थापना गरेका छन् ।
उनले नेपालका विभिन्न ठाउंमा आमाको नाममा बाटोघाटो तथा चौतारी निर्माण पनि गरेका छन् ।

साउथ इष्ट लन्डनमा बनेको पहिलो नेपाली पशुपतिनाथ मन्दिरमा उल्लेखनीय आर्थिक सहयोग गरेका लामिछानेले अल्डरसट यूकेमा निर्माण अन्तिम चरणमा पुगेको शिव मन्दिरको प्रमुख आर्थिक दाता भएर झण्डै १५ हजार पाउण्ड बढी सहयोग गरे ।

नेपाल तथा यूकेमा अनगिन्ती परोपकारी काम गर्दै 
आइरहेका लामिछानेले सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई स्थानीय सिडिओमार्फत ५ लाख ५१ हजार पनि सहयोग गरेका थिए ।

संघर्षपछि व्यवसायिक सफलताको चुचुरोमा


२२ वर्षअघि लन्डन उत्रंदा रबिजंग लामिछानेसंग सपना र महत्वकांक्षाबाहेक केही थिएन । थियो त आंट, इमान्दारी र लगाव । लन्डन क्याम्डेन टाउनमा सानो स्केलमा फेसनको व्यवसाय शुरु गरेका लामिछाने कडा परिश्रम, इमान्दारी र लगावकै कारण अहिले सफल व्यवसायीको सूचीमा छन् ।

उनी लेडिज फेसन सम्बन्धि कम्पनी रबि फेमस लिमिटेड, आर फेमर लिमिटेड र जिनी लन्डन लिमिडेटका निर्देशक हुन् । उनको आर फेमस लिमिटेडले महिलाहरुका लागि कपडा डिजाइन तथा उत्पादन गरेर होलसेल रुपमा बेलायत, युरोप र अमेरिकामा आपूर्ति गर्ने गर्छ । अरु बांकी लेडिज फेशनका रिटेल कम्पनी हुन् । उनको मुख्य कारखाना चीनमा छ । लामिछानेले चीन, नेपाल र यूकेमा झण्डै ६ सय कामदारलाई रोजगारी दिएको बताए । उनको अब पाकिस्तान र बंगलादेशमा पनि कारखाना शुरु भएको छ ।

‘म नेपालको मध्यम परिवारमा जन्मिएको मान्छेले बेलायतसहित युरोप, अमेरिकी फेसन व्यवसाय गर्नु कम चुनौतिपूर्ण थिएन’, लामिछानेले भने, ‘सिक्दै ठक्कर खांदै मिहेनत गरिरहें, पश्चिमा युवतीहरुको नयां नयां फेसन मागप्रति अपडेट भएं र पेशाप्रतिको लगावले सफलता मिल्यो ।’

यूके नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष उनी ब्रिटेन नेपाल सोसाइटीसहित बेलायती र नेपालीका कयौं संघसंस्थामा आवद्ध छन् । अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक हुन् उनी । श्रीराम मन्दिर साउथहल, दुर्गा मन्दिर वेष्ट 
इलिङ, हिलगेट हिल मुरुगान मन्दिर आर्चवे र स्वामी नारायण मन्दिर निज्डेनका आजीवन सदस्य हुन् ।

नेपलिज हिन्दू फोरम यूकेका संस्थापक सदस्य लामिछाने तमुधिं यूकेका आजीवन सदस्य छन् । उनी भिजिट नेपाल २०२० विजनेश फोरमको उपसंयोजक थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू