शुक्रबार, वैशाख ७, २०८१
18:01 | २२:४६

भारतबाट फर्किनेमा दिनहुँ कोरोना संक्रमण

क्वारेन्टिन नबस्नेलाई कारबाही

रासस मार्च २५, २०२१

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो ।

परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

उता कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकामा आज बिहान मात्रै भारतको पञ्जाव र पुनाबाट आएका चार जनामा संक्रमण देखिएको छ । गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका यहाँको पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउदले कैलालीको टीकापुरका दुई र डोटीका दुई जनामा संक्रमण देखिएको बताए   

‘यस नाकाबाट दैनिक ५०० देखि ७०० सम्म नेपाली भारतबाट फर्किरहेका छन्’,  अहेव साउदले भने, ‘सीमामा परीक्षण गर्दा हरेक दिनजसो कोरोना पोजेटिभ देखिएको छ ।’

उनले बुधबार सोही नाकामा परीक्षण गर्दा आठ र मङ्गलबार पाँच जनामा कोरोना देखिएको बताए । ‘एक साताको विवरण हेर्दा २० जनामा संक्रमण देखिएको छ’, उनले भने, ‘भारतमा संक्रमित क्षेत्रबाट आइरहेका नेपालीहरूमा यहाँ संक्रमण देखिन थालेको छ ।’

गड्डाचौकी प्रहरीका अनुसार पछिल्लो समय भारतका विभिन्न शहरमा कोरोनाको संक्रमण बढिरहेसँगै मजदुरीका लागि भारत गएकाहरु सिमानाबाट फर्किने क्रम बढेको छ । ‘दैनिक चारदेखि पाँच सय नेपाली गड्डाचौकी नाकाबाट घर फर्किरहेका छन्’,  इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, ‘सीमामा स्थानीय प्रशासनले भारतको सङ्क्रमित क्षेत्रबाट आइरहेकाहरूको स्वास्थ्य परीक्षण पनि गरिरहेको छ ।’

कोरोना कहरको अवस्था सामान्य बन्दै गएका बेला भारत जाने क्रम यहाँबाट शुरु भए पनि भारतमा संक्रमण बढ्दा फर्किनेको चाप बढ्न थालेको हो । त्यसैगरी कञ्चनपुर प्रशासनले पनि यहाँ कोरोना संक्रमण बढ्न नदिन स्वास्थ्य सतर्कता कायम गर्न अनुरोध गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतका केही राज्यमा कोरोना संक्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै यस्तो अवस्थालाई मध्यनजर गर्दै प्रशासनले आदेश जारी गरेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी विज्ञप्तिमा प्रशासनले नजिकिँदै गरेको होलीलगायत कुनै मेला, पर्व र भीडभाड नगर्न भनेको छ । प्रशासनले कोरोना संक्रमण बढ्न नदिन सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रहसमेत गरेको छ ।

भारतबाट आएर क्वारेन्टिन नबस्नेलाई कारबाही 

पछिल्लो केही दिनयतादेखि भारतमा कोरोना भाइरसको संक्रमण बढेका कारण अहिले रोजगारीका लागि भारत गएका जिल्लाका दजनौँ नागरिक घर फर्किन थालेका छन् । 

छिमेकी मुलुक भारतका विभिन्न शहरमा कोरोना भाइरसको जोखिम बढेका कारण रोजगारीका लागि त्यहाँ गएका डोटीका नागरिक धमाधम घर फर्किन थालेपछि अनिर्वायरूपमा १४ दिन क्वारेन्टिन बस्न यहाँको जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा आज बसेको कोभिड–१९ संक्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारबाही गरिने निर्णय गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू