बुधबार, माघ ७, २०७७
17:44 | २३:२९

मनकारी इशा : गरीव, दुःखीको सहारा

नेपाली लिङ्क जनवरी ९, २०२१

लण्डन । बेलायत तथा नेपालका मनकारीहरुमाझ लण्डन एसेक्सवासी इशा गुरुङ सुपरिचित नाम हो । पछिल्ला १२ वर्षमा उनले नेपाल र नेपालीका लागि सहयोग अभियानमार्फत १० करोडभन्दा बढी जुटाइसकेकी छन् । १० हजारदेखि ५ लाखसम्म सहयोग गरेकी उनले यो अवधिमा अनुमानित ३ करोड हाराहारीमा सहयोग गरिन् । लकडाउनमा मात्रै मनकारी इशाको खल्तीबाट १८ लाख रुपैयाँ नेपाल पुग्यो ।

नेपालमा संकट परेका, दीनदुःखी र सामाजिक कामका लागि इशाको दिल, दिमाग र हात जुर्मुराइहाल्छन् । सामाजिक कामका लागि पनि उनी कहिल्यै सहयोग जुटाउन र सहयोग गर्न पछि हटिदिनन् । तर, विगत एक वर्षयता भने उनले फेसबुकमार्फत सहयोग अभियान चलाएकी छैनन् । यद्यपि उनको सहयोग भने निरन्तर जारी नै छ । थाकेकी छैनन्, त्यसैले त लकडाउनमात्रै उनले दुःखमा परेका नेपालीहरुका लागि पकेटबाटैं १८ लाख रुपैयाँ नेपाल पठाइन् ।

कास्कीको पोखरा जन्मथलो भएकी इशाको कर्मथलो बेलायत बनेको छ । उनको शिक्षादीक्षा सरकारी स्कुलमै भएको हो । उनले तेस्रो प्रयासमा कन्या हाइस्कुलबाट एसएलसी पास गरेकी हुन् । पृथ्वीनारायण क्याम्पस पोखरामा कानून पढिन् । त्यो समय उनको व्यक्तिगत जीवनका लागि पनि कठिन थियो, बिहान क्याम्पस पढ्ने उनी दिउँसो स्कुल पढाउँथिन् भने साँझ ब्युटी पार्लरमा चलाउँथिन् । घर फर्किदा साँझको ८ बजिसकेको हुन्थ्यो ।

सन् १९९४ मा उनी विद्यार्थी भिसामा जापान गइन् । ९ वर्ष जापान बसेकी ईशाले जापानीहरुबाट सफल हुनका लागि मेहनत गर्ने गुण सिकिन् । ‘जापानिजहरुको परिश्रमको प्रशंशा संसारभर हुन्छ,’ इशा सुनाउँछिन्, ‘जापानिजहरुको संघर्ष मलाई पनि अतुलनीय लाग्यो । एकदमै सुन्दर देश, जापनिजहरु निकै दुःख गर्ने रहेछन् ।’ जापानले प्रगति गर्नुका पछाडि त्यहाँ कामका आधारमा विभेद नहुनु र कामलाई ठूलो सानो नठान्नु पनि रहेको उनले सुनाइन् । ‘साहु र कामदार सबै एकै स्तरमा काम गर्ने,’ उनी थप्छिन्, ‘जनता क्लिन, विवेकशील, अनुशासित, पोलाइट लागे ।’

९ वर्ष जापान बसेपछि सन् २००० मा उनी नेपाल फर्किइन् । सन् २००१ मा उनी घुम्नका लागि बेलायत आइपुगिन् । यहाँ घुमफिर गर्ने क्रममा उनको भेट एक बेलायती युवकसंग भयो, उनै विदेशीले उनको दिल जिते । दुवै जनाले संगै जीवन बिताउने संकल्पसहित विहे गरे । ‘कर्मले जुराएको रहेछ,’ उनले भनिन्, ‘अहिले त हाम्रो १२ वर्षकी छोरी छन् ।’

बेलायतमा बसेर के भो र ? इशाको मन अहिले पनि नेपालमै डुलिरहन्छ । हरेक वर्ष उनी नेपाल जान्छिन् । बेलायतमै रहँदा पनि उनी सामाजिक सन्जालमार्फत मर्दापर्दाका नेपालीहरुको लागि सहयोग जुटाउन जुर्मुराइरहेकी हुन्छन् । उनको नेपालप्रतिको लगाव अनौठो नै छ । बेलायतमा इशा गुरुङको नामैले मानिसहरु पीडा र दुःखमा रहेका नेपालीहरुका लागि लाखौं रकम ओइर्याउँछन् ।

१२ वर्षअघि छोरी जन्मिदा उनले पहिलो पटक फेसबुक खोलेकी हुन् । त्यो बेला रविन्द्र मिश्र हेल्प नेटवर्कका लगि सहयोग संकलन गर्थे । मनकारी इशाले तीन महिला हेल्प नेपाल नेटवर्कलाई सहयोग गरिन् । मिश्रले इशाका बारेमा आफ्नो फेसबुक पेजमा लेख्न थाले, यसले उनलाई पनि अरु धेरै नेपालीमाझ चिनायो ।


यही क्रममा तत्कालीन नेकपा एमालेकी सांसद शान्ता चौधरीलाई स्तन क्यान्सर भयो । नायिका करिष्मा मानन्धरले भनिन्, ‘इशा, शान्ता चौधरीको किताब पढेको एकदमै मन खायो, तिमीले पनि सक्छौं भने अलिकति सहयोग जुटाइदेउ न ।’ इशाले शान्ताको विषयमा अध्ययन गरेपछि उनलाई पनि छोयो, फेसबुकमा साथी पनि बनिन् । कुराकानी भएपछि उनले शान्ताका लागि सहयोग अभियान चलाइन् । यही क्रममा बेलायतमा एमालेका समर्थकहरु उनीसँग जोडिए । उनको नेतृत्वमा बेलायतबाट जम्मा भएको रकम सुष्मा राईमार्फत शान्तालाई हस्तान्तरण गरियो । शान्ताले सहयोग रकम बुझेपनि आफूलाई पैसा पुगेकोले सरकारलाई बुझाउने घोषणा गरिन् । यो कुराले इशाको मन कुडियो । उनले भनिन्, ‘बहिनी तपाईं हिरो हुनका लागि यस्तो कुरा नगर्नुस् । तपाईंको कम्लरी संस्थामा अझै पनि कति बच्चाहरु दुःखी पीडित छन्, आफ्नैं संस्थामा भएका बच्चाहरुका लागि खर्चिनुहोस्, सरकारलाई किन बुझाउने ?’ तर, इशाको सुझाव नमानेर शान्ताले सरकारलाई उक्त रकम फिर्ता गरेपछि उनी ‘यस्तो पो नेता’ भनेर भाइरल भएको गुनासो उनले गरिन् ।

इशाको चाहना के थियो भने कि शान्ताले पैसा उठाउन पर्दैन भन्नुपर्थ्यो कि पैसा लिएर सरकारलाई नदिएर कुनै राम्रो काममा खर्चिनुपर्थ्यो । नत्र आफ्नै संस्थामार्फत त्यहाँ रहेका बालवालिकाका लागि खर्च गरेपनि हुने ।

वि.सं. २०७२ सालमा भूकम्प गएपछि धुर्मस—सुन्तली फाउण्डेसनले वस्ती निर्माण गर्ने योजना अगाडि बढायो । त्यसका लागि पनि उनले सहयोग जुटाएर पठाइन् । नेपालमा त्यसपछि गएको बाढी—पहिरोहरुमा पनि मनकारी इशा त्यतिकै बस्न सकिनन् । रवि लामिछानेले कालिकोटको रास्कोटमा निर्माण गर्न लागेको अस्पतालका लागि पनि उनले अभियान चलाएर २५ लाख सहयोग जुटाइन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाइरहेको गौतम वुद्ध रंगशालाका लागि व्यक्तिगत रुपमै ५ लाख सहयोग गरिन् । कतिपयले ‘रंगशाला बनाउने सरकारको काम हो’ भनेर विरोध गरेपछि उनले सहयोग अभियान भने चलाइनन् । महावीर पुनले नेतृत्व गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक संकट परेको थाहा पाएपछि उनी त्यत्तिकै बस्न सकिनन् । इशाले राष्ट्रिय आविष्कार केन्द्रका लागि १३ लाखभन्दा बढी रकम जुटाएर नेपाल पठाइन् ।

त्यसबाहेक उनले चेपाङ समुदाय, एसिड पीडित बालिका, चितवन राष्ट्रिय निकुन्जका कारण विस्थापित भएका वस्तीका नागरिकदेखि आगलागी, बाढीपहिरोसहितका दैवीप्रकोप पीडितका लागि पनि कयौं पटक सहयोग जुटाइन् । प्रवासी नेपाली मञ्चले चेपाङ बस्तीमा बाख्रा—पालन गर्ने भनेपछि अझ सहयोगका लागि अपिल गरिन्, सहयोग जुट्यो । यतिमात्र होइन्, आगोले पोलेका, करेन्ट लागेका, मिर्गौला पीडित, क्यान्सरका बिरामीदेखि अनेकन बिरामी र दुःखमा परेका नेपालीहरुका लागि उनी बेलायतमा उतिकै सक्रिय रहिन् । ‘म फेसबुकमा जोडिएको १२ वर्ष भयो,’ उनी आफ्नो समाजसेवातर्फको यात्राबारे भन्छिन्, ‘त्यहीबेलादेखि निरन्तर म समाजसेवामा खटिरहेकी छु ।’ यो अवधिमा उनले रक्षा नेपालदेखि शान्ता चौधरीसम्मका लागि सहयोग जुटाइन् । उनले आफूले गरेको र जुटाएको सहयोग रकम पहिले धुर्मुस—सुन्तली र रवि लामिछानेमार्फत हस्तान्तरण गर्दै आएकी थिइन् । तर, अहिले दुवै जना आफ्नो काममा बढी व्यस्त भएपछि भने अन्य व्यक्तिहरुमाथि सहयोग रकम हस्तान्तरण गर्दै आएकी छन् ।

एक वर्षदेखि सहयोग अभियान नचलाएपनि व्यक्तिगत रुपमा उनी सहयोग गर्दै आएकी छन् । लकडाउनमा भोकमरी हुँदा चामल बाँड्ने, गाडीभाडादेखि घरभाडा तिरिदिनेसम्मको काम पनि उनले गरिन् । पोखराको सुकुम्वासी बस्ती र काभ्रेमा पनि उनले राहत बाँडिन् । बीबीसीको १०० प्रभावशाली महिलामा परेकी सपना रोकामगरलाई १० हजार पुरस्कार पठाइन् ।


इशा सहयोग अभियान गर्दा लाइभ आएर सहयोग गर्न अपिल गर्दै भन्छिन्, ‘यस्तो समस्या छ, सहयोगी मनहरु आफ्नो क्षमताअनुसार सम्पर्क गर्नुहोला ।’ त्यसपछि सहयोग गर्नेहरुले दिएको रकमको आँकडा र उनीहरुको फोटो फेसबुकमा अपडेट गर्छिन् । आविष्कार केन्द्रका लागि अभियान चलाएपछि केहीले अरुको पैसामा समाजसेवी बन्ने भनेर भन्न थालेपछि उनको मन दुख्यो, त्यही कारण उनले अहिले अभियान चलाउन छोडेकी हुन् । इशा अहिले कसैले सहयोग मागेमा अभियान गर्दिनन्, बरु आफ्नो क्षमताअनुसार सहयोग पठाइदिन्छन् । ‘फेसबुकमा पनि यस्तो समस्यामा परेकालाई मैले यति सहयोग गरे, तपाईहरुलाई मन लागेमा गरिदिनुहोला भनेर फेसबुकमा लेख्छु,’ उनले सुनाइन्, ‘कतिपय सहयोगीहरुले पोष्ट गरिदेओस् भनेर मलाई सम्पर्क गर्छन्, अनि मैले उनीहरुको पोष्ट गरिदिन्छु ।’

सहयोग जुटाउँदा उनलाई कस्तो अनुभूति हुन्छ ? भन्छिन्, ‘यो जुवातासजस्तै नशा हो । ६ महिना पैसा बचाउँछ भनेर भन्दा पनि मन मान्दैन्, पैसा आएपछि फुत्त फुत्त फुत्त दिइरहन पर्छ । सहयोग गर्न पाउँदा आनन्द लाग्छ ।’ इशाले फेसबुक खोल्ने बित्तिकै पीडितहरुको म्यासेज र कमेन्टहरु भरिएका हुन्छन् ।

भविष्यमा नेपालमै बस्ने चाहना 


४७ वर्षीया इशा बेलायतमा हेल्थकेयर असिस्टेन्ट हुन् । उनले त्यो काम पार्टटाइम गर्छिन् । हप्तामा उनको तीन दिन छुट्टी हुन्छ भने चार दिन काममा हुन्छिन् । ‘मेरो जब केयरर हो,’ उनले भनिन् ।

बेलायतमा धेरै संघसंस्थाहरु उनलाई संस्थाको सल्लाहकारमा बस्न आग्रह गर्छन् । तर, उनले त्यो आफ्नै व्यस्तताले भ्याएकी छैन । बेलायतको एनआरएनमा रहँदा उनले भव्य रुपमा नारी दिवसको आयोजना गरिन् । त्यो बेलामा एनआरएनको कोषमा पनि राम्रै पैसा जम्मा भयो ।

फुर्सदको समयमा उनी फेसबुकमा लाइभमा आएर फ्यानहरुसँग भलाकुसारी गर्छिन् । फेसबुकमा पोजेटिभ पोष्टहरु गर्छिन् । घरसरसफाइ, सपिङ गर्छिन् । नेपाली खाना इशालाई एकदम मन पर्छ । ‘दाल, भात, तरकारी, अचार र मन विशेष मन पर्छ,’ उनले भनिन् । उनलाई मनपर्ने मनपर्ने पहिरन भने कुर्ता सुरुवाल र साडी हो ।

भविष्यका लागि उनले कुनै त्यस्तो योजना बनाएकी छैनन् । भाग्यमा भन्दा कर्ममै बढी विश्वास राख्ने इशा भन्छिन्, ‘सधैं यस्तै सत्कर्म गर्न पाइरहूँ । आफूसँग धन हुन्जेल दिन पाइयोस् । भविष्यमा नेपाल गएर बस्ने उनी, उनका श्रीमान्, र छोरी तीनै जनाको चाहना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू