शनिबार, साउन १२, २०८१
02:17 | ०७:०२

बेलायतमा एकै दिनमा ५३ हजार बढी संक्रमित

संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड

नेपाली लिङ्क डिसेम्बर २९, २०२०


लण्डन । बेलायतमा कोरोना संक्रमितको संख्याले दिनदिनै नौलो रेकर्ड बनाउन थालेको छ ।  

सोमबार जारी तथ्यांकले एक दिनमा महामारी शुरु भएयताकै सबैभन्दा धेरै ४१ हजार बढी संक्रमित देखाएकोमा मंगलबार त्यो संख्या ५३ हजार पुगेको छ ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५३ हजार १३५ जना नयां कोरोना संक्रमित थपिएका छन् । संक्रमितको यो संख्या एक दिनमा भेटिएको अहिलेसम्मकै उच्च हो ।

सोमबार सार्वजनिक दैनिक संक्रमितको संख्याभन्दा मंगलबारको संख्या दश हजार बढी छ । सोमबारसम्मको २४ घण्टामा  ४१ हजार ३८५ नयां संक्रमित थपिएका थिए ।

यससंगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या २३ लाख ८२ हजार ८६५ पुगेको छ । संक्रमित संख्यामा वृद्धि भएसंगै यहाँका अस्पतालहरुमा संक्रमितको चाप तीव्र रुपमा बढेको छ ।

अस्पतालमा भर्ना हुनेको संख्या पनि महामारी शुरु भएयाताकै सबैभन्दा बढी पुगेको नेशनल हेल्थ सर्भिसले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा ७१ हजार ५६७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र दुई हजार ३२२ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल बेलायतका अस्पतालमा २१ हजार भन्दा बढी संक्रमितको उपचार भइरहेको छ भने भेन्टिलेटर बेडमा उपचार भइरहेका १ हजार ५२९ जना छन् ।  

बेलायतमा हालसम्म छ लाख १६ हजार भन्दा बढीलाई फाइजर-बायोएनटेकद्वारा विकसित खोप दिइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू