बिहीबार, वैशाख १३, २०८१
14:07 | १८:५२

बेलायतबाट उडान नहुंदा काजकिरियामा पनि वञ्चित

अत्यावश्यक काममा पनि प्रतिवन्ध वाधक

नेपाली लिङ्क डिसेम्बर २९, २०२०

लन्डन । एनआरएनए यूके पूर्व उपाध्यक्ष तथा समाजसेवी हिराधन राई अहिले पितृशोकमा छन् । उनका बुबा मणीप्रसाद राईको आइतबार निधन भएपछि उनले बेहोरेको क्षति अरुले अनुमानमात्र
 गर्न सक्छन् । त्यो भन्दा बढी पीडा त यस्तो दुःखद घडीमा उनले न आफ्नो बाबुको अन्तिम दर्शन गर्न पाए, न काजकिरिया ।

‘बाबा चाहेर पनि हाम्रो अन्तिम भेट हुन सकेन । परदेशी हुनुको पीडा म कसरी व्यक्त गरुं’, उनी भावविव्हल हुंदै भन्छन् ।

बेलायतमा कोरोना भाइरसको नयां स्वरुप तीव्र फैलिएपछि नेपाल सरकारले बेलायतबाट जाने सबै उडान प्रतिवन्ध लगाएपछि हिराधन राई र रोजिना प्रधान आफ्ना बाबुको महाप्रस्थानको साक्षी बन्न सकेनन् । ‘आफ्नो प्रिय व्यक्ति गुमाउनुको पीडा एकातिर छ, त्यसमाथि कोरोनाले निम्त्याएको महाविपतले मानसिक आघात समेत पुरयाउने रहेछ’, 
राई भन्छन् ।

यो समस्या भोग्ने राई त प्रतिनिधिपात्र मात्र हुन् । बिरामी परेर थलिएका आफन्तजनको मुख हेर्नबाट वञ्चित हुने पनि कयौं छन् ।

नेपाल सरकारले गत मंगलबारदेखि बेलायतबाट जाने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । मंगलबारदेखि नै लागू हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल जाने यात्रुलाई रोक लगाएको हो ।

अत्यावश्यक काममा पनि प्रतिवन्ध वाधक

लन्डनका सफल व्यवसायी रविजंग लामिछाने २३ डिसेम्बरमा आफ्नी वृद्धा बिरामी आमालाई भेट्न नेपाल जाने तरखरमा थिए । अचानक लन्डनमा टियर फोर प्रतिवन्ध लाग्यो, नेपाल सरकारले बेलायतबाट हवाइ उडान प्रतिवन्ध लगाउने घोषणा गरयो । ‘यात्रा रद्द गर्नुको विकल्प रहेन’, व्यवसायी लामिछानेले भने, ‘आफ्नो व्यापार व्यवसायको क्षति त छंदैछ, प्रियजनसंग भेटघाटमा पनि वाधक बन्यो कोरोना ।’

अर्को सूचना नभएसम्मका लागि यो रोक लागू हुने भनिएकाले बेलायतवासी नेपाली अन्यौलमा छन् । लन्डनस्थित नेपाली दूतावासले पर्यटक एवं अन्य भिजा जारी गर्न रोकेकाले अत्यावश्यक काम भएका ब्रिटिश 
राहदानीवाहक नेपाली पनि प्रभावित भएका छन् ।

अध्ययनका लागि बेलायत आएका चिकित्सक पनि प्रतिवन्धले रोकिएका छन् ।

‘होलिडेमात्र भएको भए त आफ्नो योजना केही पर सार्न समस्या थिएन । तर, परिस्थितिले अत्यावश्यक काम र बिरामी बाबुआमा भेट्न पनि नपाइने भो’, लन्डनमा रहेका एक नेपाली गुनासो पोख्छन् ।

लन्डन ग्रीनफोर्डस्थित केटिएम ट्राभल एण्ड टुर्सबाट नेपाल जान टिकेट लिएका झण्डै २५ जना अन्तिममा रद्द गर्न वाध्य भएको सञ्चालक सुनिल थापाले बताए । ‘फलाइट छन्, तर नेपाल सरकारले 
उडान रोकेको छ’, थापा भन्छन्, ‘इमर्जेन्सीमा नेपाल जान पर्ने भयो भनेर प्रत्येक दिन मानिसहरुको फोन आउंछ तर हामी केही गर्न सक्ने अवस्थामा छैनौं ।’

थापाले भाइरस नियन्त्रण गर्ने हो भने उडान होइन्, नेपालमा जुलुस-आन्दोलन बन्द गर्न सुझाव दिए । ‘भाइरस सर्न विदेशबाट जाने नेपाली कति नै हुन्छन् र ?’ उनले प्रश्न गरे, ‘उडान नै रोक्नु भन्दा त यहांबाट जाने यात्रुहरुको पिसिआर टेष्ट वा क्वारेन्टिनको व्यवस्था गरे हुन्न र ?’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू