शनिबार, वैशाख १५, २०८१
00:52 | ०५:३७

इंग्ल्याण्डमा उपचारका लागि वर्ष दिनभन्दा बढी पर्खाइ

एक लाख ४० हजार भन्दा बढी मानिस एक वर्षदेखि प्रतिक्षारत

नेपाली लिङ्क नोभेम्बर १४, २०२०

लन्डन । आफ्ना नागरिकलाई निशुल्क उपचार गर्ने गरि सन् १९४८ मा खोलिएको बेलायतको स्वास्थ्य सेवाका आफ्नै विशेषता छन् । नेशनल हेल्थ सर्भिस (एनएसएच) भनेर परिचित यहांको स्वास्थ्य सेवाले स्थापना भए देखि नै प्रभावकारी काम गर्दै आएको ठानिन्छ । सरकारले स्वास्थ्यको जिम्मा लिएपछि आममानिसलाई निकै सुविधा पनि छ ।

बेलायती नागरिक, आप्रवासी कामदार, विदेशी विद्यार्थी लगायत ६ महिना भन्दा बढि बस्ने मानिसले आफ्नो नजिकको स्वास्थ्य चौकी (जिपी 
सर्जरी) कहां गइ दर्ता प्रक्रिया सकेपछि विधिवत रुपमा बेलायतको निशुल्क स्वास्थ्य सेवा लिन सकिन्छ ।

तर, अहिले इंग्ल्याण्डका हस्पिटलमा उपचारका लागि एकवर्ष भन्दा बढी कुर्नुपर्ने समस्या देखा परेको छ । सन् २००८ पछिकै सबैभन्दा खराब अवस्था आएको अधिकारीहरुले बताएका छन् । गत सेप्टेम्बर अन्तसम्म झण्डै एक लाख ४० हजार मानिस एक वर्षदेखि पर्खिरहेका थिए । जबकी उनीहरुले १८ हप्ताभित्र नै उपचार पाइसक्नुपर्ने थियो ।

एनएचएस इंग्ल्याण्डको तथ्यांकमा गत वर्ष यही अवधिको तुलनामा नन कोभिड बिरामी भर्ना २७ प्रतिशतभन्दा कम छ । गत महिना ए एण्ड इ जाने विरामीको संख्या गत वर्षको तुलनामा २६ दशमलब ४ प्रतिशतले घटेको पाइएको छ ।

अहिलेको परिस्थिति अलिकति भिन्न पनि छ । कोभिड महामारी र पर्याप्त चिकित्सक अभावले सेवा द्रुत गति लिन नसकेको सरोकारवाला बताउंछन् । नेपलिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. रमेश खोजु तत्काल उपचार गर्नुपर्ने क्यान्सरजस्ता ‘लाइफ थ्रेटनिङ’ बाहेकका बिरामीलाई लामो समय लागेको अनुभव सुनाउंछन् ।

‘प्रतिक्षा त कोभिड अघि पनि लामै हुन्थ्यो । तर, अहिले महामारीका कारण थप पर्खाइ भएको छ’, डा. खोजुले भने, ‘इंग्ल्याण्डका अस्पतालमा उही जनशक्ति छ तर धेरै वार्ड कोभिड वार्डमा परिणत गरिएकाले पनि समय व्यवस्थापनमा कठिनाइ भएको हो ।’

कोरोना संक्रमणका कारण अत्यावश्यक बाहेकका बिरामीहरुलाई हस्पिटल जान रोक लगाइएको छ भने प्रतिक्षा सूचीमा रहेकालाई पनि रोगको प्रकृति हेरेर पछाडि सारिएको छ । बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसंगै संक्रमित संख्या तीव्र रुपमा बढ्न थालेको छ ।

वीन्टरको समयमा हस्पिटलमा थप चाप बढ्न सक्ने र कोभिड १९ बाहेकका बिरामीहरु अझ बढी मारमा पर्न सक्ने बताइएको छ । क्यान्सर लगायत अन्य विभिन्न खाले सर्जरीको प्रतीक्षामा रहेका बिरामीहरु दिनहुँ पीडाले छटपटिएर बस्न बाध्य भएका छन् । कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्न थालेपछि ब्राडफोर्ड, लिड्स, नटिंगहाम, बर्मिंगहाम र लिभरपुलका ठूला हस्पिटलहरुले इमर्जेन्सीबाहेकका बिरामीको उपचारमा भारी कटौती गरेका छन् ।

कोरोना संक्रमण बढ्न थालेसंगै धेरैजसो उपचार पनि ‘भर्चुअल’ मा सिमित भएको छ । टेलिफोन, इमेल तथा भिडियो कलको माध्यमबाट कतिपय बिरामीको समस्या समाधान गरिंदै आएको छ । कोरोना संक्रमणका कारण हस्पिटलको प्रवेशद्वारमा नै ‘प्लिज डु नट कम इन्टु द हस्पिटल’ अर्थात कृपया अस्पतालमा नआउनुहोला भनेर ठूलो बोर्ड झुन्ड्याइएको पनि भेटिन्छ ।

नियमित रुपमा अस्पतालमा गरिने इमर्जेन्सी बाहेकका परिक्षण तथा शल्यक्रियाहरु कोरोना महामारीका कारण तत्कालका लागि रोकेर पर सारिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू